पूर्वमाओवादी नेताहरूको राजनीतिक हैसियतः एमालेको ‘शुभेच्छुक’

पूर्वमाओवादी नेताहरूको राजनीतिक हैसियतः एमालेको ‘शुभेच्छुक’


वैचारिक भन्दा पनि सत्ता लोभले माओवादी केन्द्र परित्याग गरि एमाले गएका नेताहरू अन्यौलपूर्ण स्थितिमा छन्। ६ जेठ अगाडिसम्म उनीहरूको अवस्था ठीक थियो, मन्त्री थिए। एमालेको महत्वपूर्ण सांगठनिक जिम्मेवारीहरूमा थिए।

तर, त्यसपछि राजनीतिक भविष्यमा ग्रहण लाग्न थाल्यो। यतिसम्म कि, सोही दिन उनीहरूको मन्त्री पद सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत् गुम्यो नै एमालेको दसौं महाधिवेशन आयोजक कमिटी सदस्य र स्थायी कमिटी पद गुम्यो। सांसद पद त माओवादी परित्याग गरेपछि लगत्तै गुमेको थियो।

यसरी राजनीतिक भविष्य नै अनिश्चयतर्फ धकेलिने गरि भएको सर्वोच्चको आदेश र अध्यक्ष केपी ओलीबाट जसपासँग सत्ता साझेदारीपछि अपेक्षित संरक्षण नहुँदा उनीहरू झन् चरम असन्तुष्टिमा छन्।

पूर्वमाओवादी एक नेताका अनुसार पार्टीभित्रको आन्तरिक परिस्थिति अलिक असहज बन्दै गएको छ। तर, पार्टी नेतृत्वले सहज बनाउने उनको विश्वास छ। ‘अहिले कता के नमिलेको जस्तो छ, परिस्थिति हाम्रा लागि अलिक असहज भएको हो कि भन्ने गरिको भएको छ’, उनले भने, ‘अध्यक्ष कमरेडले केही न केही कदम चाल्नुहुन्छ होला।’

पूर्वमाओवादी नेताहरूको मुख्य पाँच माग छन्। जो अध्यक्ष ओलीबाट अविलम्व सम्बोधन होस् भन्ने पक्षमा उनीहरू छन्।

– पार्टीमा ओलीबाट संरक्षण।
– ओलीबाट अदालतको २७ जेठको आदेशविरुद्ध चित्त नबुझेको भन्दै पुनरावलोकन निवेदन अदालतमा परोस्। (अझै पुनरावलोकन निवेदन दिन सकिने समय दुई दिन बाँकी छ।)
– एमाले र माओवादी एकता गर्दा जसरी समायोजन होस्।
– पार्टीको मार्गनिर्देशक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) भन्दा पनि नेकपाले स्वीकारेको जनताको जनवाद होस्।
– अभरमा उपयोगपछि सहजमा नफालियोस्।

पूर्वमाओवादी समूहका अर्का नेताका अनुसार ओली एउटा माग सम्बोधनमा अग्रसर हुने भएका छन्। त्यो हो,–अदालतको फैसलाप्रति पुनरावलोकनमा जाने।

ओली भोलि (बुधबार) सम्ममा सर्वोच्च जाने भएका छन्। यसरी एकातिर सर्वोच्चले पुनरावलोकनको ‘निस्सा’ दिन्छ नै भन्ने छैन र दिए पनि फैसला बदर हुन्छ भन्ने निश्चित छैन।

अर्कातिर अन्य मागहरूमा ओलीको बेवास्ता रहेको ती नेता बताउँछन्।
‘उहाँ (अध्यक्ष केपी ओली) ले जबजको विकल्प जनताको जनवाद हुन नसक्ने र पूर्व समूहको आधारमा पार्टीमा हैसियत खोज्न नहुने बताउनु भएको छ, त्यो भनेको हाम्रो माग सम्बोधन नगर्ने भन्नु भएको हो’, ती नेताको भनाइ छ।

माओवादी केन्द्र परित्याग गरेर रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभू साह, दावा तामाङ, गौरिशंकर चौधरी, चन्द्रबहादुर खड्का, झपड बोहोरा, टंक आङ्बुहाङ, रामचन्द्र मण्डल, गौरिशंकर चौधरीलगायत एमालेमा गएका छन्।

राजनीतिक भविष्यप्रति चिन्ता

ओली नेतृत्वको एमालेमा यी पूर्वमाओवादी नेताहरू आउनुको एउटा कारण चाहिँ राजनीतिक भविष्य सुरक्षित हुन्छ भनेर पनि हो।

माओवादी केन्द्र परित्याग गरेर रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभू साह, दावा तामाङ, गौरिशंकर चौधरी, चन्द्रबहादुर खड्का, झपड बोहोरा, टंक आङ्बुहाङ, रामचन्द्र मण्डल, गौरिशंकर चौधरीलगायत एमालेमा गएका छन्।

तर, यहीबेला एमाले गम्भीर मोडमा छ। आन्तरिक राजनीतिक घटनाक्रममा तलमाथि भयो कि ‘प्याट्ट’ फुट्ने अवस्थामा छ। तैपनि दोस्रो तहका नेताहरू फुटबाट जोगाउन भनेर लागि परेका छन्। एमाले जोगाउन सक्ने हुन् कि नसक्ने हुन् हेर्न बाँकी छ।

यसबीच पूर्वमाओवादी नेताहरूलाई भने एमालेमा राजनीतिक भविष्य सुरक्षित नभएको लाग्न थालेको छ।

नेता मणि थापाले सञ्चारमाध्यमहरूमा यसबारे खुलेर अभिव्यक्ति दिँदै आएका छन्। शुक्रबार मात्रै टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत नेताहरूले एमाले केन्द्रीय कमिटीमा नाम भए/नभएकोबारे निर्वाचन आयोगमा पुगेर जानकारी पनि लिए। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार थप भएका एमाले केन्द्रीय कमिटी सदस्यहरूको नामावली अद्यावधिक छैन।

मतलव, उनीहरूको राजनीतिक हैसियत अहिले एमालेको कुनै कमिटीमा छैन। एमालेको शुभेच्छुक मात्रै हुन्।

यस्तै, उनीहरूमा पार्टीको १० औं महाधिवेशनसँगै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा टिकट वितरणबारे ओलीले एक्लौटी गर्ने संशय पनि उत्पन्न भएको छ। त्यसो गरिए राजनीतिक भविष्य थप अन्धकार हुने उनीहरूको बुझाइ छ।

यसरी एमालेमा पुगेका पूर्वमाओवादी नेताहरू राजनीतिक रूपमा अन्यौलमा फसेका छन्।

ओली ‘जेठ २’ अगाडि फर्किन तयार भए भने…

एमाले एकताको मिलनविन्दु २०७५ जेठ २ भएको नेता माधवकुमार नेपाल पक्षको ‘बटमलाइन’ छ। ओली पक्ष पनि यस नजिक पुगेको छ।

पार्टीदेखि जनसंगठनको सबै संरचनालाई सोही मितिदेखि अगाडि बढाउन एकताको पहलमा जुटेका दोस्रो तहका नेताहरू मोटामोटी सहमतिमा पुगेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

यदि, अध्यक्ष ओली २०७५ जेठ २ मा फर्किए भने पूर्वमाओवादी नेताहरूको समायोजन कसरी होला? यो विषयलाई लिएर पनि पूर्वमाओवादी नेताहरू चिन्तामा छन्।

हुन त माधवपक्षीय प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले माओवादीबाट आएका नेताहरूलाई उचित ढंगले सम्बोधन गर्न सकिने बताउँदै आएकी छिन्। यद्यपि, पूर्वमाओवादी नेताहरू उचित ढंगले सम्बोधन हुनेमा विश्वस्त छैनन्।

पूर्वमाओवादीबाट को नेता?

माओवादीबाट एमाले गएकामध्ये रामबहादुर थापा वरिष्ठ नेता हुन्। त्यसपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साहलगायत हुन्।

माओवादीमा रहँदा थापा सर्वाधिक अस्थीर नेता थिए। गुट परिवर्तन गरिरहने नेतामा चिनिन्थे। लेखराज भट्ट माओवादीको नेतृत्वमा भएको जनयुद्धदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट थिए। रायमाझी र साह भने तत्कालीन माओवादी नेता हालको जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट थिए।

अन्य नेताहरू पनि कुनै न कुनै गुटमा थिए। यसरी भिन्नभिन्न गुटमा रहेका माओवादी नेताहरू एमालेमा गएपछि कसलाई नेता मान्ने भन्नेमा अनिर्णित छन्।

पूर्वमाओवादी एक नेताका अनुसार ओलीले थापालाई ‘च्यापेका’ छन्। अन्य पूर्वमाओवादी नेताहरूलाई बेवास्ता गर्न थालेका छन्। त्यही भएर अहिले थापालाई नेता मान्न नसकिनेमा अन्य पूर्वमाओवादी नेताहरू पुगेका छन्।

एकथरी नेताहरूले थापा नभइ रायमाझीलाई पूर्वमाओवादीतर्फबाट आएकामा नेता मान्नुपर्नेमा जोड दिन थालेका छन्।

Logo