युवा संघ नेपाल प्रदेश १ कमिटीको बैठक सम्पन्न

युवा संघ नेपाल प्रदेश १ कमिटीको बैठक सम्पन्न


नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति धन्यवाद ज्ञापन गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ कमिटीको भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा नेता बस्नेतले मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए।

नेता बस्नेतले युवा संघकै समानान्तर कमिटी गठन गर्दै हिडेका युवाहरुलाई मुल नेतृत्वमा ल्याउन संघ लाग्नुपर्ने र अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाएका छन्।

पछिल्लो समय मुलुकको राजनीति अस्तिरतातर्फ लम्किरहेको र नेकपा एमालेभित्रको विवाद पनि उत्कर्षमा पुगेर फुटको डिलमा पुगेको बेला पार्टीभित्रको गतिविधि र युवा संघले खेल्नुपर्ने भूमिका बारे छलफल गर्न राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ कमिटीले बैठकको आयोजना गरेको हो।

बैठकमा पार्टीलाई एकताबद्ध बनाउन युवाहरुले खेल्नुपर्ने भूमिका, युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका, युवा संघका भावी रणनीति बारे छलफल भएको थियो।

बैठकमा प्रदेश १ को १४ वटै जिल्लाका पदाधिकारीले संघले जिल्लामा गरेको कामका बारे रिपोटिङसमेत गरेका थिए। बैठकमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका र युवा संघका भावी रणनीतिका बारेमा प्रकाश पारेका थिए।

उनले आफ्नो आफ्नो क्षेत्रबाट जनतासँग नजिक रहने विभिन्न अभियान संचालन गर्नका लागि तयार रहन पनि प्रदेश कमिटीलाई निर्देशन दिएका थिए। 

त्यस्तै उपाध्यक्ष तथा केन्द्रिय संगठन विभाग प्रमुख क्षितिज थेवेले संघको संगठनिक भावी योजना साथै प्रदेशले खेल्नु पर्ने भूमिकाको बारेमा समेत प्रस्ट पारेका थिए।

बैठकमा संघका उपाध्यक्ष रबिन थापा, उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज अञ्जना अधिकारी, रोशन बस्नेत,महासचिव रमेश आचार्य लगायत केन्द्रिय पदाधिकारी साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी र सचिवालय साथै केन्द्रिय कमिटीका सदस्यहरुको उपस्थिति रहेको युवा संघ प्रदेश १ संयोजक विजय डाँगीले जानकारी दिए।

Logo