आवश्यक परे जनपरिचालन समेत गरिन्छः सभापति देउवा

आवश्यक परे जनपरिचालन समेत गरिन्छः सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताएका छन्।

बिहीबार विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताए। प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको देउवाको भनाई थियो। देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको प्रति असन्तुष्ट जनाए।

बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको समेत उनले थपे। अन्तर्क्रियामा बोल्दै देउवाले भने, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ।’ सभापति देउवाले आवश्यक परे जनपरिचालन गर्ने पनि बताए।

देउवाले फेरि थपे, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ।’ उनले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथसमेत खोजेका छन्।

‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुले दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उनले भनेका छन्।

Logo