यस्ता छन् एमाले एकताका ‘तगारा’

यस्ता छन् एमाले एकताका ‘तगारा’


नेकपा एमाले फेरि मिल्नेतिर गएको छ। मिल्नका लागि दोस्रो तहका नेताहरू रहेको १० सदस्यीय कार्यदलले मिलनविन्दु पहिल्याउँदै छ।

सोमबार ब्युँतिएको कार्यदलले मंगलबार र बुधबार विषगयत छलफल गरेको छ। कार्यदलमा रहेका नेताहरूले बिहीबार (भोलि) सम्ममा निष्कर्षमा पुगिने बताएका छन्। उनीहरूका अनुसार कार्यदल संगठनात्मक प्रणाली केन्द्रित छलफलमा छ। तर, एकताको मिलनविन्दु चाहिँ के–के हुन्? जसले एमाले एकता कायम रहन्छ। 

१) हस्ताक्षर र फैसलाबारे समान धारणा
१० जेठमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा नेपालपक्षका २३ सांसदले समर्थनसहित हस्ताक्षर गरे।

दलीय प्रणालीमा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि विपक्षी दलका नेतालाई हस्ताक्षरसहितको समर्थन दिन सांसद स्वतन्त्र हुन्छन् कि हुँदैनन्? सर्वोच्चको संवैधानिक इजलासको व्याख्या आउन बाँकी छ।

यही असार २८ गते सर्वोच्चको व्याख्यासहित मुद्दाको फैसला आउने सम्भावना छ। तर, अध्यक्ष ओलीले १८ असारमा केन्द्रीय कमिटी बैठकमार्फत् २१ असार (गत सोमबार साँझ ५ बजेसम्म) हस्ताक्षर फिर्ता गर्न निर्देशनसहितको अल्टिमेटम दिएका थिए। नेपाल पक्ष भने हस्ताक्षर फिर्ता नलिने पूर्ववत् अडानबाट टसमस भएन।

यस्तो अवस्थाबीच ओली र नेपालपक्षीय नेता भीम रावलको भेटपछि सोमबार कार्यदल ब्युँतियो। कार्यदलले एकताका लागि मिलनविन्दुको खोजी गरिरहेको छ। यद्यपि, २३ सांसदको हस्ताक्षरसँगै सर्वोच्चबाट आउने फैसला जस्तो आएपनि स्वीकारेर अघि बढ्ने समझदारी गर्दा एमाले एकता कायम हुने सम्भावना रहन सक्छ।

२) जेठ २ अघि फर्केर ४१ र २३ जनाको व्यस्थापन
१६ असारमा बसेको केन्द्रीय कमिटी बैठकमार्फत् अध्यक्ष ओलीले २ जेठ २०७५ पूर्वको पार्टी संरचनालाई अगाडि बढाउन तयार रहेको बताए। यही विन्दुबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग नेता नेपालले २३ फागुनमा एमाले ब्युँतिएपछि नै गर्दै आएका थिए।

तर, उनले ओलीले २ जेठ २०७५ मा फर्किने बताएपछि पनि माओवादीबाट आएका चार नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाए। माधवपक्षीय डा. वेदुराम भुसाल र ओली निकट विष्णु रिमाललाई पनि स्थायी कमिटी सदस्य बनाए।

हाल माधवपक्षलाई चित्त नबुझेको चाहिँ थपिएको स्थायी कमिटी सदस्यमा पनि हो। अन्य पनि चित्त नबुझेको विषय माधव पक्षको छ। त्यसले गर्दा एमालेकालीन स्थायी र केन्द्रीय कमिटी बोलाएर निर्णय गर्दै नेकपा हुँदा थपिएका ४१ जना र माओवादीबाट आएका २३ जना नेताको व्यवस्थापन गर्नु दुवै पक्षबीच समझदारी हुनुपर्ने देखिन्छ।

र, नेपाल पक्षबाट पनि निश्चित संख्यामा स्थायी र केन्द्रीय कमिटीमा सदस्य थप गर्ने दुई नेताबीच समझदारी भए यो पनि एमाले एकताको एउटा मिलनविन्दु हुन सक्छ।

तर, अध्यक्ष ओली पार्टीलाई जेठ २ अगाडि र माओवादीसँग एकता हुँदा थपिएका ४१ जनासँगै माओवादीबाट आएका २३ जनासहितको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउन चाहन्छन्।

३) तिक्ततालाई बिर्सिने, अघि बढ्ने
वरिष्ठ नेता नेपाल तत्कालीन नेकपा हुँदा एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर अध्यक्ष ओली र उनी निकटका नेताहरूमाथि कारबाहीको डन्डा चलाए। यतिसम्म कि पार्टीको साधारण सदस्यताबाट समेत हटाउने काम भयो।

तर, २३ फागुनमा नेकपालाई अलग गरेर पूर्वतर्वी पार्टी एमाले र माओवादी ब्युँतिएपछि चाहिँ एमालेमा अध्यक्ष ओली पक्ष शक्तिशाली भयो। उनले पनि माधवपक्षमाथि अनुशासनको नाममा पटकपटक कारबाहीको डण्डा चलाएर बदला लिए।

यसबीचमा तल्लो स्तरको आक्षेप र टिप्पणी दुवै पक्षबाट भए। महत्वपूर्ण त के भयो भने यी दुई नेतापक्षको तिक्ततापूर्ण र असहिष्णु सम्बन्धले ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्यो। र, विपक्षी कांग्रेसको हातमा गण्डकी सरकार पुग्यो। 

बहुमत हुँदा हुँदै पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न सकेन। यसरी दुई नेता पक्षबीचको चिसो सम्बन्धले एमालेले धमाधम क्षति बेहोर्यो। यसप्रति पक्षधरताविनाका एमाले कार्यकर्ताहरू दुःखि छन्। यसकारण, विगतका यस्ता तिक्ततालाई बिर्से अगाडि बढ्ने समझदारी पनि एकताको मिलनविन्दु हुन सक्छ।

४) सम्मानजनक पूर्ववत् जिम्मेवारी यथावत
पार्टी एकता भएको अवस्थामा अध्यक्ष ओली केन्द्रीय कमिटीदेखि स्थायी कमिटीमा पनि बलियो हुने देखिन्छ।

माओवादीबाट एमाले आएका नेताहरू ओलीसँगै छन्। जबकि, नवौं राष्ट्रिय महाधिवेशनबाट गठित २५ सदस्यीय स्थायी कमिटीमा नेपाली पक्षमा १४ जना र ओली पक्षमा ११ जना थिए। माओवादीबाट आएका ४ जना थपिएसँगै ओली स्थायी कमिटीमा बहुमतमा छन्। केन्द्रीय कमिटीमा त पहिले नै ओली बहुमतमा थिए। 

फेरि, नेता नेपाललाई एकता भएको अवस्थामा ओलीले पेलेर अगाडि बढ्छन् भन्ने लागेको छ। त्यही भएर उनले सम्मानजनक ढंगको व्यवहारको अपेक्षा गरेका छन्।

तर, यो विन्दुमा आउनुपूर्व भने दुवै पक्षले आत्मालोचना भने गर्नुपर्ने देखिन्छ। यससँगै अध्यक्ष ओली पक्षबाट २८ फागुन, ७ चैत लगायत विभिन्न मितिमा भएको विधान संशोधनबारे दुई पक्षबीच समझदारी हुनुपर्ने पनि देखिएको छ।

५) नेतृत्व हस्तान्तरण
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गत फागुन ११ गते ७० औं जन्मोत्सव मनाए। आगामी फागुन ११ गतेदेखि उनले ७१ वर्ष पूरा गर्ने छन् र ७२ वर्षमा लाग्ने छन्। वरिष्ठ नेता माधवकुमार नेपालले पनि आगामी फागुन २६ गते ७० वर्ष पूरा गरेर ७१ वर्षमा लाग्ने छन्। 

उमेरले सात दशक छेउछाउमा रहेका यी दुई नेताबीच कार्यशैलीगत मतभेद बढ्दा अन्नतः पार्टी फुट नजिक पुगेको हो। फुटको असर नेपाली कम्युनिस्ट आन्दोलनमा त पर्छ नै, २०५४ पछि एमालेको राजनीतिक वियोगान्त भोग्नुपर्छ। 

त्यही भएर पार्टी एकता जोगाउनका लागि अध्यक्ष ओलीसँगै वरिष्ठ नेता नेपालले नेतृत्व हस्तान्तरण गरेर आराम गर्दै दोस्रो तहका नेताहरू सुवास नेम्बाङ, ईश्वर पोखरेल, भीम रावललगायत मध्ये कसैलाई पार्टी नेतृत्वको जिम्मेवारी दिनुपर्ने देखिन्छ। यो पनि एमाले एकताको अन्तिम मिलनविन्दु हुन सक्छ।

Logo