नेपाललाई ओलीबाट पेलिने डर !

नेपाललाई ओलीबाट पेलिने डर !


एमाले एकता कायम राख्न कार्यदलले सम्वाद गर्दै मिलनविन्दु पहिल्याइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट व्यक्त संशय हो,–‘हस्ताक्षर फिर्ता गरिए कतै ओलीले फेरि पेल्दैनन्?

अनि, विपक्षी गठबन्धनबाट अलग्याउने चालबाजी त होइन। यिनै संशयले गर्दा नेता नेपालले ‘पावर शेयरिङ’ को नयाँ शर्त अघि सारेका हुन सक्छन्।

त्यो भनेको पार्टी नेतृत्व र सरकारको नेतृत्वमध्ये एक पद बाँडफाँट हुनुपर्छ भन्ने चाहना हो।

जुन शर्त पूरा हुने सम्भावना न्यून देखिन्छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालपक्षीय दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले त त्यो विषय कार्यदल तहबाट समाधान हुन नसक्ने जनाइसकेको छ। र, कार्यदलले भनेको छ, ‘नेताहरूबीच नै यस विषयमा समझदारी हुनुपर्छ।’

यसबीच माधवपक्षीय स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘हामी सचेत हुनुपर्ने विषय कहाँनेर हो भने, हस्ताक्षर फिर्ता लिनेदेखि पार्टी एकतालाई कायम गर्ने प्रक्रियामा जाँदै गर्दा भोलि ओलीले फेरि पेलेर जाँदैनन्? त्यही भएर नेता नेपाललाई स–सम्मान शक्तिशाली पदीय भूमिकाबारे अहिले नै टुङ्गो लाग्नुपर्छ।’

जबकि, वरिष्ठ नेता नेपाल नवौं महाधिवेशनमा ओलीसँग पराजित भएका हुन्। फेरि, नेपाली राजनीतिक दलहरूमा भारतको सत्तासिन दल भारतीय जनता पार्टी (भाजपा) मा जसरी पार्टी अध्यक्ष र संसदीय दलका नेता भिन्नभिन्नै छैन।

पार्टी अध्यक्ष नै दलको नेता हुने र सरकार गठन गर्नुपरे प्रधानमन्त्री हुने चलन छ। नेता नेपाल चाहिँ निर्वाचित पार्टी अध्यक्ष र संसदीय दलको नेता/उपनेता होइनन्। जुन शर्तलाई लिएर ओलीपक्षीय नेताहरू अचम्मित छन्।

ओलीपक्षका स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्मा कार्यकर्ताको भावनाअनुसार पार्टी एकता कायम राख्ने हो भने नयाँनयाँ शर्त तेस्र्याउन नहुने बताउँछन्।

‘मिल्ने भए मिल्ने कुरा आउनुपर्छ, नमिल्ने भए त प्रष्टप्रष्टी नै भन्नुपर्छ कि हामी मिल्दैनौं भनेर। होइन भने नयाँ शर्त अघि सारेर अड्को थाप्न जरुर छैन’, स्थायी कमिटी सदस्य विश्वकर्माले केन्द्रविन्दुलाई भने।

ओली र नेपाललाई १० सदस्यीय कार्यदलको दबाब पार्टी एकता कायम राख्नमा छ। जे–जे मा समझदारी कायम गरेर हुन्छ, त्यसरी पार्टी एकतालाई कायम राख्नुपर्ने भन्दै कार्यदलले नेताहरूमाथि दबाब बढाएको छ।

पार्टी फुट नजिक पुगेको अवस्थाबीच गत सोमबार ब्युँतिएको कार्यदलले एकता कायम राख्न सकिने गरिको मिलनविन्दु खोजीमा छ।

धेरै विषय मिलिसकेको ओलीपक्षीय कार्यदल सदस्यहरूले बताउँदै आएका छन्। तर, नेपालपक्षीय कार्यदल सदस्यहरूले भने खासै प्रगति नभएको बताउने गरेका छन्। 

Logo