गण्डकी प्रदेशः एमाले सांसदद्वारा टेबुल फ्यालेर सदन अवरुद्ध, बजेट भने पारित

गण्डकी प्रदेशः एमाले सांसदद्वारा टेबुल फ्यालेर सदन अवरुद्ध, बजेट भने पारित


गण्डकी प्रदेश सभामा एमाले सांसदले टेबुल फ्यालेका छन्। बैठकमा अवरोध श्रृजना गर्दै उनीहरुले टेबुल फ्यालेका हुन्। तथापि बिरोधका बीच बजेट भने पारित भएको छ।

एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भनेका थिए। तर, एमाले सांसदले मानेनन्, उनले केहीबेर सभासमेत स्थगित गरे।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमालेले विरोध जनाएका हुन्।

गण्डकी प्रदेश सभाका सदस्य एमाले नेता मायानाथ अधिकारीले टेबुल नफ्यालेको बरु हिड्ने बाटो साधुरो भएर पर सारेको बताए।

कहाँ हामीले टेबुल फ्याल्यौं र बरु टेबुल पर सारेको चाहिँ हो, विरोध भएको हो तर, टेबुल फ्यालेका छैनौं, उनले भने।

किन बैठक अवरोध गर्नुभयो भन्ने प्रश्नमा उनल भने, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयक सम्बन्धी बार्षिक विकास कार्यक्रमको पुस्तक सदनमा टेबल भएपछि हामीलाई दिनु भयो। कार्यक्रम हेर्यौं, अध्ययन गर्यौं, तर विगतको सरकारले अघि सारेको बहुबर्षिय योजनादेखि सबै योजनाहरु हटाएर अनुसूचिमा लगेर राख्नुभयो। उहाँहरुले स्रोत भएमात्र कार्यान्वयन गर्ने भन्नु भयो, जहाँ कि, कतिपय योजनाको निर्माणकार्य सकिएको छ, भुक्तानी हुन बाँकी छ, कतिपय योजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर उहाँहरुले त्यो सबै रोकेर छ सयभन्दा बढी फूट्कर(टुक्रे) योजनाहरु ल्याउनु भयो, कार्यकर्तालाई बाड्नु भयो, त्यसैको विरोध गरेका हौं।’ 

‘उहाँहरुले पूर्वाग्रही र असन्तुलित हिसाबले बजेट बाढ्नु भयो, त्यसको विरोध गरेका हौं’, उनले फेरि थपे।

तर, प्रदेश सभामा सदस्य कांग्रेस नेता मेखलाल श्रेष्ठले भने पूर्व भौतिक योजनामन्त्री रामशरण बस्नेतले टेबुल उठाएर फ्याँकेको आरोप लगाए।

पूर्वमन्त्री ज्युले सभाभुखलाई लक्षित गरेर टेबुल फ्याँक्नु भयो, यस्तो हर्कत देखाउनु हुन्छ जस्तो लागेको थिएन, उनले भने।

हामीले उहाँलाई पूर्वाग्रही र असन्तुलित हिसाबले बजेट बाड्नुभयो, भन्ने आरोप छ नि किन त्यसो गर्नुभयो, भन्ने प्रश्नमा त्यसो नगरेको उनले बताए।

हामीले स्रोत अभावका कारण पोहोरको भन्दा ४ अर्ब बजेट घटाएर ल्याएका छौं, बजेट घटेका कारण कार्यक्रम काटिएको उनले स्पष्ट पारे । श्रेष्ठले बहुबर्षिय योजनाहरु कुनै नकाटिएको तर बजेट जुन पोहोर पनि छुट्याइएको थियो तर असारसम्म काम भएन, तर, फेरि अर्को बर्ष पनि त्यहि योजनामा बजेट खन्याइएका बजेट काटेका हौं, उनले भने।

सांसद श्रेष्ठले भने, गुरुङ नेतृत्वको सरकारले ५ अर्ब १५ करोडको कुनै डिपिआर नगरि र अर्थ मन्त्रालयलाई थाहा नदिई टेन्डर गरिसकेको र ८ अर्ब ५९ करोडको गत सालको बहुबर्षिय योजनामा ठेक्का गरि दायित्व सृजना गरिसकेको योजनालाई कटौंती गरेको पनि बताए।
 

Logo