१० असोज २०७८ आइतबार

जेलमा रहेका आफ्ना नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधूप

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि संसद्वादी राजनीतिक दलको औचित्य सकिएको टिप्पणी गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अन्य पार्टीका नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन्।

दुई दिनमा उनले पूर्व नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे।

भेटमा विप्लवले राजनीतिक मुद्दामा कारागारमा रहेका आफ्ना नेताहरूको रिहा र मुद्दा खारेजीका लागि पहल गर्न आग्रह गरेका विप्लवनिकट नेता उदयबहादुर चलाउने ‘दीपक’ ले केन्द्रविन्दुलाई बताए।

उनका अनुसार नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’सँग नेपाल निवास कोटेश्वरमा गएर विप्लवले प्रचण्ड पनि त्यहाँ रहेका बेला संसदीय प्रणाली असफल भएको र वैज्ञानिक समाजवादसहितको राजनीतिक प्रणालीबारे जनमत संग्रह गर्नुपर्ने र वृहत् वाम एकताबारे छलफल भएको बताए

प्रचण्डको सचिवालयका एक सदस्यले भने विप्लवले ओलीबाट ३ बुँदे समझदारीमा भएका बुँदाहरूको इमानदार कार्यान्वयन नभएको पनि गुनासो गरेका थिए। ती बुँदाहरूको कार्यान्वयनलाई गठबन्धन सरकारले प्राथमिकता दिनुपर्नेमा विप्लवको जोड थियो।

२१ फागुनमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन भूमिगत रूपमा रहेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच तीनबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

ती समझदारीको इमानदार प्रयास हुनुपर्ने, नभए सरकारले मूल्य चुकाउनुपर्ने चेतावनीपूर्ण भाषा बोल्दै आएका विप्लवको कारागारमा रहेका नेता कार्यकर्तालाई गठबन्धन सरकारबाट रिहा गर्ने चाहना छ।

विप्लवनिकट एक नेताका अनुसार नेताहरू हेमन्तप्रकाश वली ‘सुदर्शन’, माइला लामालगायत नेताहरूले रिहा गराउन विप्लवलाई चर्को दबाब दिँदै आएका छन्। विप्लवले पनि गठबन्धन सरकारबाटै रिहा सम्भव हुने ठानेको बताइन्छ।

जबकि, गठबन्धन सरकारको आधारशीला बनेको सर्वोच्च अदालतबाट २८ असारमा भएको फैसलाको आलोचना विप्लवले गरेका छन्।

प्रकाशित: ३१ असार २०७८ १५:२१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी