माधव नेपाल पक्षलाई आठ मन्त्रालय दिएर फकाउने प्रयास

माधव नेपाल पक्षलाई आठ मन्त्रालय दिएर फकाउने प्रयास


एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनको सरकारले आठ मन्त्रालय दिने तयारी गरेको खुलेको छ।

जबकि, कांग्रेस र माओवादी केन्द्रले समान ६÷६ वटा मन्त्रालय लिने भएका छन्। संघीय मन्त्रालयको संख्या २५ हो। बाँकी ५ मन्त्रालय चाहिँ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने गठबन्धनका घटकहरूबीच समझदारी भएको स्रोतले जनाएको छ।

गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ। समर्थन चाहिँ रहने जनाएको छ।

स्रोतका अनुसार संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको सत्ता नेतृत्व दल कांग्रेस र संसदको तेस्रो ठूलो दल माओवादीले कम मन्त्रालय राखेर नेपाल पक्षलाई बढी दिन लाग्नुको कारण विश्वासको मतका लागि फकाउन हो।

बढी मन्त्रालय दिँदा नेपाल पक्ष सहजै सरकारमा आउन सक्ने र विश्वासको मत प्राप्त गर्न सकिने गठबन्धनका घटकहरूको बुझाइ छ।

फेरि, नेपाल पक्ष विपक्षी गठबन्धनमा रहेर प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने पक्ष हो।

यसले गर्दा पनि माधवपक्ष सरकारमा जाने सम्भावना बढी छ। तर, सरकारलाई विश्वासको मत दिएर सहभागी भएको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई नेपाल पक्षलाई पार्टी संगठनदेखि किनारा लगाउन सक्ने अवस्था रहन सक्ने नेपाल निकट एक नेता बताउँछन्।

तर, नेपाल निकटकै सांसदहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेशकुमार भट्टराईलगायत नेताले भने विश्वासको मत दिने दिनसम्ममा ओली पक्षमा उभिन सक्ने नेपाल पक्षमै चर्चा सुनिन थालिएको छ। 

त्यसो भएको अवस्थामा भने बहुमत जुटाउन देउवा नेतृत्वको गठबन्धन सरकारलाई सकस पर्ने देखिन्छ।

Logo