अझै टसमस भएनन् ओली र नेपाल, जुट्ला त एमाले?

अझै टसमस भएनन् ओली र नेपाल, जुट्ला त एमाले?


नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्ना अडानमा अडिग रहेकाले पार्टी एकता प्रक्रिया जटिल बन्दै गएको छ।

माधव पक्षले स्थगन हुनुपर्ने माग राखे पनि शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले विभिन्न निर्णय गरेको छ। त्यसो त बैठकले पार्टी एकताका लागि गठित कार्यदल विघटन गरेको छ। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

एमालेकै माधव पक्षका २३ समेत गरी १ सय ४६ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले परमादेश दिएपछि देउवा प्रधानमन्त्री बनेका थिए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएपछि एमालेको माधव पक्षले देउवालाई विश्वासको मत दिने बताउँदै आएको छ। माधव पक्षका नेता स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देउवालाई एमालेका २३ सांसदको मत जानेमा कुनै सशंय नभएको बताएका छन्।

न्यौपानेले देउवालाई २३ सांसदले मात्र होइन, १ सय ४६ भन्दा बढी सांसदले मत दिने दाबीसमेत गरे।

पार्टी अध्यक्ष ओलीले शुक्रबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आयोजना गरेको स्थायी कमिटी बैठकमा एमाले वरिष्ठ नेता नेपाल गएनन्। कार्यदलमा सदस्य रहेका रघुजी पन्त र कार्यदलमा नरहेका भीम आचार्यबाहेक अन्य स्थायी कमिटी सदस्य पनि सहभागी भएनन्।

बैठकमा माधव पक्षबाट कार्यदलका संयोजक उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल उपस्थित थिए।

एमाले उपाध्यक्ष रावलले अध्यक्ष ओलीलाई बैठक बैठक रोक्न आग्रह गरेका थिए। तर, ओलीले त्यो प्रस्ताव अस्वीकार गरिदिए। रावलले स्थायी समिति बैठक केही दिन रोकेर पार्टी एकतामा जोड दिनुपर्ने प्रस्ताव गरेका थिए।

बैठकबाट बाहिँरिदै गर्दा रावलले सञ्चारकर्मीलाई भने, ‘पार्टी एकतामा जोड दिन केही दिन बैठक रोकौं भन्ने हाम्रो प्रस्ताव थियो, अध्यक्षले मान्नु भएन, हामी त्यसपछि बिदा मागेर हिँड्यौं।’ अध्यक्षले बैठक सुरु गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर आफ्नोे कुरा राखेको उनको भनाइ छ। ‘उहाँ (ओली)ले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिनुभयो, हामीले हस्ताक्षर गरेनौं। त्यसपछि  बैठकबाट बाहिरियौं,’ उनले भने।

बैठकस्थलबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए। 

कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको उनको आरोप छ। 

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने रावलको उक्त जवाफको खण्डन गरेका छन्। सधैंभरि पार्टी बैठक रोक्न नसकिने उनले प्रत्युत्तर दिएका छन्। 

‘हामीले उहाँहरूको आग्रहमा असार २८ गतेको बैठक स्थगित गर्यौं, २९, ३० र ३१ पनि बैठक राखेनौं। सधैंभरि बैठक रोक्नु पनि भएन। पार्टी पनि आफ्नै ढंगले अगाडि बढ्नुपर्यो । अनन्तकालसम्म पर्खेर बस्नु सम्भव पनि हुन्न,’ ज्ञवालीले भने।

ब्युँतिएको कार्यदलको २७ असारको अन्तिम बैठकले दुवै शीर्ष नेताबीच वार्ता गराएर मात्रै स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको थियो। तर, आजसम्म दुई शीर्ष नेताबीच कुनै संवाद हुन सकेको छैन। कार्यदलले दशबुँदे सहमति गरेको भोलिपल्ट अर्थात् २८ असारमा सर्वोच्चले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएकाले ओली रुष्ट छन्।

ओली रुष्ट भएकै कारण माधव नेपालसँग संवाद हुन सकेको छैन। अर्कातिर अध्यक्ष ओलीले बालुवाटारबाट आफ्नो निवास बालकोट सर्ने क्रममा दिएको अभिव्यक्तिले जटिलता थपेको छ।

ओलीले एमालेमा माधव नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाल झनै रुष्ट बनेका छन्। त्यसयता नेपालले विपक्षी गठबन्धनमा नेताहरुसँगको भेटलाई तीव्रता दिएपछि एमाले एकता प्रक्रियामा विराम लाग्ने त होइन भन्ने संशय बढेको छ। झन् एमाले स्थायी कमिटी बैठकले कार्यदलको विधिवत अन्त्य गरेपछि ओली–नेपाल मिलन जटिल बन्दै गएको छ।

Logo