माधव नेपाललाई नयाँ पार्टी खोल्न कति सहज छ?

माधव नेपाललाई नयाँ पार्टी खोल्न कति सहज छ?


वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षको राजनीतिक भविष्य एमालेमा बेटुङ्गो भएको छ। एमालेमा रहने/नरहने टुङ्गो छैन। पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमलाई आधार मान्दा एमालेमा माधव पक्षको राजनीतिक भविष्य करिब टुङ्गिएको छ।

सत्ताच्युतपछि २९ असारमा बालकोटस्थित निवासको बार्दलीबाट पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालका लागि एमालेमा ठाउँ नै नभएको पनि घोषणा गरे। उपाध्यक्ष वामदेव गौतमको शब्दमा एकअर्कासँग रिसले चुर भएका ओली–नेपाल तिक्ततापूर्ण सम्बन्धमा छन्। त्यही भएर पानी बाराबारको स्थितिमा छन्।

फेरि, २८ असारमा ओली सत्ताच्युत भए। त्यससँगै बालुवाटारदेखि ओलीको बसाइ बालकोट भएको छ।

यसरी बालुवाटारदेखि घर फर्काउन निर्णायक भूमिका नेपालकै रह्यो। बाध्यतावस करिब ४१ महिनापछि प्रधानमन्त्री पदको कुर्सी कांग्रेस सभापति शेरबहादुर देउवालाई छाड्नुपर्यो। यसले गर्दा आफ्नै पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर विपक्षीलाई सरकारमा पुर्याएको अपजस नेपाल पक्षमाथि छ।

सोही कारण नेपाल पक्ष एमालेमा अट्न नसक्ने भन्ने ओलीको अभिव्यक्ति आएको हो। अट्न नसक्ने भन्नुको अर्थ पार्टीबाट हटाइदिने भनिएको हो। यदि, हटाइदिएको अवस्थामा नेपालले ५३ वर्षपछि पार्टीबाट अलग हुनुपर्नेछ। पसिना बगाएको, जेलनेल भोगेको भनिएको पार्टीबाट राजनीतिक यात्रालाई विराम गर्नुपर्नेछ।

राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल नेपाल र उनी पक्षको आगामी राजनीतिक भविष्य पूरै संकटपूर्ण र चुनौतीपूर्ण हुने बताउँछन्।

ओली र उनी पक्षका लागि पनि सहज भने पटक्कै नभएको उनलाई लागेको छ।  ‘एमाले इतिहासकै गम्भीर मोडमा छ, अझ एमालेका वरिष्ठ नेता नेपालसँगै उनी पक्ष संकटपूर्ण र चुनौतीपूर्ण अवस्थामा छन्, यसो भन्दा अध्यक्ष ओली पक्षलाई चाहिँ सहज छ भन्न खोजिएको होइन’, पोखरेलले केन्द्रविन्दुसँग भने।

एमालेको स्थिति कानूनीरूपमा ‘प्याट्ट’ फुट्न मात्र बाँकी हो। फुटका लागि टेवा पुग्ने खालका गतिविधिहरू ओली–माधव दुवै पक्षबाट भएका छन्। राजनीतिकरूपमा चाहिँ फुटिसकेको छ।यस्तो अवस्थाको एमालेमा नेता नेपाल र उनी पक्षको राजनीतिक भविष्य र चुनौती कस्ता छन्? आम चासो छ। 

१) राजनीतिक भविष्य दाउमा

अध्यक्ष ओलीसँगै एमालेमा रहन नेता नेपालको अरुची देखिएको छ। त्यही भएर ओली पक्षले पनि ‘मिल्ने भए मिल्ने कुरा, नमिल्ने भए नमिल्ने प्रष्ट कुरा गर्दा हुन्छ’ भन्न थालेको अवस्था छ।

ओलीका तत्कालीन प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकता प्रक्रियामा आउन नचाहेको भए थप बल नगरिने बताइसकेका छन्। मतलव, पार्टी एकता कायम गर्न इमान्दार प्रयास गर्दै नेपाल नआए पनि सही भनिएको हो। यस्तो अवस्थामा नेपाल र उनी पक्षको राजनीतिक भविष्य दाउमा पर्ने देखिन्छ। यो नेपाल पक्षको लागि मुख्य चुनौती हो।

फेरि, विभाजन भएर गएको पक्षले गठन गरेको निर्वाचनमा बलियो शक्ति भएर आएको देखिएको छैन। कालान्तरमा बरु संस्थापन पक्षसँगै एकता प्रक्रियामा जोडिएको देखिन्छ। यस आधारमा नेपाल पक्ष विभाजित भए राजनीतिक भविष्य पनि दाउमा पर्ने देखिएको छ।

२) गुटका नेता जोगाउन पनि सकस

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टीका दोस्रो तहका आफूपक्षीय अधिकाँश नेताहरू एमालेमै अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन्। यसको अर्थ, नेपाललाई छाड्ने ती नेताहरूको तयारी हो। उपाध्यक्ष भीम रावलले समेत साथ नदिने अवस्थामा पुगेको नेता नेपाल निकट एक केन्द्रीय कमिटी सदस्यले बताए।

रावल सुदूरपश्चिमको नेपालपक्षीय प्रभावशाली नेता हुन्। नेता सुरेन्द्र पाण्डे, उपमहासचिव घनश्याम भुसालदेखि सचिवद्वय गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला त नयाँ पार्टी खोलिए साथ नदिने पक्षमा छन्।

अट्न नसक्ने भन्नुको अर्थ पार्टीबाट हटाइदिने भनिएको हो। यदि, हटाइदिएको अवस्थामा नेपालले ५३ वर्षपछि पार्टीबाट अलग हुनुपर्नेछ। पसिना बगाएको, जेलनेल भोगेको भनिएको पार्टीबाट राजनीतिक यात्रालाई विराम गर्नुपर्नेछ।

यसले गर्दा नयाँ पार्टी गठन गरेको अवस्थामा नेता नेपालले आफूपक्षीय भनिएका दोस्रो तहका प्रभावशाली नेताहरूलाई गुमाउने स्थिति छ। यसर्थ, उनको चुनौती गुटका नेताको रक्षा गर्नुमा पनि हो।

३) सरकार ढाल्ने र पार्टी विभाजनको अपजस

स्रोतका अनुसार नेपाल पक्षले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।

गठबन्धनले पनि नेपाल पक्षलाई २५ मध्ये आठ मन्त्रालय दिने तयारी गरेको छ। विश्वासको मत दिए देउवा नेतृत्वको सरकार १७ महिनासम्म टिक्न सक्छ। यस्तो अवस्थामा पार्टीको निर्णय र संसदीय दलको निर्णयविपरीत ‘फ्लोर क्रस’ गरेर मत दिएको भन्दै एकातिर ओलीले कारबाही गरी हटाउन सक्छन् भने अर्कातिर उनलाई सरकार ढाल्ने र पार्टी विभाजनसम्मको अपजस लाग्न सक्छ।

जुन अपजस चिर्न नसके उनको राजनीतिक भविष्य अन्धकार हुन सक्ने राजनीतिक विश्लेषक तथा प्राध्यापक पोखरेल बताउँछन्। यो नेपालसामू देखिन सकिने अर्को चुनौती हो।

४.नयाँ पार्टी खोले पनि स्थापित गर्न असहज

२०५४ मा तत्कालीन एमालेबाट वामदेव गौतम नेतृत्वमा एउटा समूह अलग हुँदै माले गठन भयो। तर, स्थापित भएन। अन्ततः गौतम एमालेमै फर्किए। 

अर्को कम्युनिस्ट पार्टी माओवादीमा त झन् पार्टीबाट अलग हुँदै मोहन वैद्यले (नेकपा – क्रान्तिकारी), बाबुराम भट्टराईले नयाँ शक्ति, विश्वभक्त दुलाल ‘आहुती’ले वैज्ञानिक समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा गठन गरेपछि सबै दलको हालत सानो आकारमा खुम्चियो।

कांग्रेस सभापति देउवाले पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरविरोधका कारण कांग्रेस प्रजातान्त्रिक गठन गरेपनि अन्नतः पार्टी एकता गरे। 

यसले गर्दा यदि नेपाल पार्टी फुटाएर गएपनि उनलाई नयाँ पार्टी स्थापित गर्न सहज हुने छैन। चुनौतीपूर्ण हुनेछ। जनताले नयाँ दललाई विकल्पको रूपमा स्थापित गरेको ‘ट्रेण्ड’ देखिएको छैन।

Logo