माधव नेपालको रणनीतिः देउवालाई विश्वासको मत दिने, सरकारमा नजाने

माधव नेपालको रणनीतिः देउवालाई विश्वासको मत दिने, सरकारमा नजाने


एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने देखिएको छ। सरकारमा नगए पनि देउवा सरकारलाई विश्वासको मत भने दिने अवस्थामा नेपाल पक्ष छ। सर्वोच्च अदालतको २८ असारको फैसलापछि पुनःस्थापित संसद् जोगाउने नेपालले भनि पनि सकेका छन्।

संसद् देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा मात्रै जोगिने हो। नभए विघटन हुन्छ। यसरी विघटनबाट जोगाउन विश्वासको मत दिने मनस्थितिमा रहेको नेपाल पक्ष सरकारमा चाहिँ सहभागी नहुने भएको छ।

नेपाल निकट एक नेताले सरकारमा जाँदा पार्टी एकता बिथोलिन सक्ने र राम्रो सन्देश नजाने बुझाइ रहेको बताए। तर, विपक्षी गठबन्धनमा रहेर प्रतिनिधिसभा पुनःस्थापना गराउन सकिएकोले पुनःस्थापित संसद्लाई जोगाउन विश्वासको मत दिनु अपरिहार्य ठानिएको बताए। 

तर, नेपाल निकट नै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने सरकारमा जाने कि नजाने र विश्वासको मत दिने कि नदिने भन्ने निश्चित गर्न बाँकी रहेको बताए। बैठक बसेर निश्चित गरिने उनको भनाइ छ।

‘अहिले निश्चित छैन। पछि के हुन्छ, थाहा छैन। सरकारमा जान्छ कि जाँदैन, विश्वासको मत दिन्छ कि दिँदैन? पार्टी के हुन्छ? कसरी अघि बढ्छ? फेरि, संसद् पुनःस्थापना गरिएको छ’, ज्ञवालीले केन्द्रविन्दुसँग भने।

ज्ञवालीको भनाइलाई आधार मान्दा पनि नेपाल पक्षले देउवालाई विश्वासको मत दिने अनुमान गर्न सकिन्छ। जबकि, विपक्षी गठबन्धनमा रहेर आफ्नै पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री रहँदा विश्वासको मत नेपाल पक्षले दिएन।

यदि २७ वैशाखमा विश्वासको मत दिएको भए ओली नेतृत्वको सरकार संविधानको धारा ७६ (३) अनुसार कायम रहन सक्थ्यो।

तर, विश्वासको मत दिन संसदमै गएनन्। पार्टी संसदीय दलको निर्देशनलाई बेवास्ता गरे। जसरी पनि ओली नेतृत्वको सरकारलाई ढालेका नेपाल पक्षले देउवालाई चाहिँ विश्वासको मत दिने देखिएको हो।

गठबन्धन सरकारको नेतृत्व गरेका देउवाले एकपटक र गठबन्धनको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईपटक निवासमै पुगेर नेपालसँग भेटघाट गरिसकेका छन्।

भेटघाटको क्रममा विश्वासको मत दिँदै सरकारमा पनि सहभागी हुन देउवा र प्रचण्डले आग्रह गरिसकेको विवरण सार्वजनिक भइसकेको छ।

यस्तै सरकारमा आएको अवस्थामा २५ मध्ये सर्वाधिक ८ मन्त्रालय दिने पनि गठबन्धनका घटकहरूबीच समझदारी भइसकेको छ। 

Logo