देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस, आफ्नै दलबाट आकांक्षी धेरै

देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस, आफ्नै दलबाट आकांक्षी धेरै


गठबन्धन सरकारको नेतृत्व गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस बढ्दै गएको छ।

गठबन्धनमा रहेका घटकहरूबाट भन्दा पनि देउवालाई आफ्नै पार्टी कांग्रेसमा मन्त्रीको आकांक्षी बढी भएपछि मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो।

कांग्रेसमा प्रकाशमान सिंह, डा. शशांक कोइराला, सुजाता कोइराला, उमाकान्त चौधरी, बहादुरसिंह लामा, जिपछिरिङ लामा, पुष्पा भुसाल, डा. डिला संग्रौला, प्रमिला राईलगायतले मन्त्रीका लागि लबिङ गरिरहेका छन्। 

नेतृ सुजाताले त प्रधानमन्त्री देउवालाई फोन गरेरै उपप्रधानमन्त्री बनाउन शनिबार मागसमेत गरेकी छिन्। यसअघि उपप्रधानमन्त्री भइसकेकी हुनाले मन्त्री भन्दा उपप्रधानमन्त्री पद सुजाताको तार्गेटमा परेको छ। 

यसरी देउवालाई पार्टीभित्रबाट सुजाताले मात्रै होइन, थुप्रै सांसदले मन्त्री बनाउन भन्दै चर्को दबाब दिइरहेको देउवा निकट स्रोतले जनाएको छ। जुन दबाब देउवालाई थेगिनसक्नु भएको छ।

देउवाले चाहिँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसदलाई पनि मिलाएर मन्त्रिपरिषदमा सहभागी गराउने मनस्थिति बनाएका छन्।

तर, गठबन्धन सरकार भएकाले कांग्रेसले ६ वटा मन्त्रालय राख्ने भएको गठबन्धनका घटकहरूबीच अनौपचारिक समझदारी भइसकेको छ। 

माओवादी केन्द्रले पनि ६, एमालेको माधवकुमार नेपाल पक्षले ८ र जसपाको उपेन्द्र यादव पक्षलाई ५ वटा मन्त्रालय लिने गठबन्धनका घटकहरूबीच समझदारी भएको हो। यस्तो अवस्थामा पार्टीका थुप्रै सांसद मन्त्री बन्न लर्को लागेपछि देउवा समस्या परेका हुन्।

फेरि, कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएको छ। महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा देउवाले गरिसकेका छन्। यसले गर्दा पनि मिलाएर पार्टीका सांसदहरूलाई मन्त्री नबनाएको अवस्थामा देउवालाई महाधिवेशनमा क्षति हुने राजनीतिक विश्लेषक दुर्गा सुवेदी बताउँछन्। 

Logo