एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ। सोमबारदेखि जारी बैठक आज पनि बस्ने भएको हो। यस अघि बसेका बैठकमा प्रदेश अध्यक्षहरुले पार्टीभित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन्।

मंगलबार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थो बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन् । मंगलबारको बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, बागमती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेको प्रवक्ता प्रदीपकुुमार ज्ञवालीले बताए। 

प्रदेश अध्यक्षहरुले पार्टीबाट केही नेताहरु बाहिरिए भने त्यसको प्रभावहरु के पर्न सक्छन् र आसन्न निर्वाचनमा नेकपा(एमाले)को अवस्था कस्तो हुन सक्छ भन्ने सम्बन्धमा पनि रिर्पोटिङ गरेको उनले बताए। प्रदेश अध्यक्षहरुले प्रशिक्षण कार्यक्रम गरिनुपर्ने र आफूभित्र भएका कमी कमजोरीहरुको पनि आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हालसम्म गरेका गतिविधिको सम्बन्धमा संस्थापन पक्षका संयोजक सुभाषचन्द्र नेम्वाङले जानकारी गराएका थिए भने भूमि समस्या समाधान गर्न गठित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले देशभर गरेका कामहरुको सम्बन्धमा बैठकलाई जानकारी गराएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। २२ एमाले सांसदलाई सोधिएको चौविस घण्टे स्पष्टीकरणको सम्बन्धमा बैठकले कुनै निर्णय नगरेको र सांसदको हातमा पत्र पुगेपछिको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउनुपर्ने उनले बताए।

Logo