हिन्दु संस्कृतिलाई होच्याउने आशयको फोटो सेयर गरेपछि बाबुराम भट्टराईको कडा आलोचना

हिन्दु संस्कृतिलाई होच्याउने आशयको फोटो सेयर गरेपछि बाबुराम भट्टराईको कडा आलोचना


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एक ट्वीटका कारण विवादमा परेका छन्। ‘भारतस्थित मेरा सहपाठीहरूले सम्प्रेषण गरेको’ भन्दै उनले हिन्दु संस्कृतिप्रति कटाक्ष गर्ने फोटो पोस्ट गरेका छन्। 

‘आस्थाले मानिसलाई अन्धो बनाउँछ। त्यसले तपाईंलाई दूध फ्याँक्ने र मूत्र पिउने बनाउँछ’ भन्ने आशयको क्याप्सनसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाउँदै गरेको फोटो पोस्ट गरेपछि नेपाल र भारत दुवै मुलुकका व्यक्तिहरू भट्टराईको खण्डनमा ओर्लिएका छन्। 

भारतमा रहेका सहपाठीको ट्वीट सेयर गरेका भट्टराईको उनका सहपाठी राप्रपा अध्यक्ष कमल थापाले भने चर्को विरोध गरेका छन्। 

बाबुरामको ट्वीटलाई उद्घृत गर्दै थापाले लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ। तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो??’ त्यसै ट्वीटमा थापाले भट्टराईलाई ‘आगोसँग नखेल्न’ पनि सुझाएका छन्।

अमृत साइन्स क्याम्पसका सहपाठी कमल थापा र बाबुराम भट्टराई नितान्त फरक किसिमको राजनीतिक यात्रामा रहेका छन्। भट्टराई भारतस्थित जवहरलाल नेहरू विश्वविद्यालयमा दीक्षित भई नेपाली कम्युनिस्ट आन्दोलनमा सहभागी हुँदै दशवर्षे माओवादी जनयुद्धमा संलग्न भए। भट्टराईकै अग्रसरतामा मुलुक राजतन्त्रबाट गणतन्त्र र हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राज्यमा परिणत भयो।

उता, पञ्चायतबाट राष्ट्रिय राजनीतिमा पाइला राखेका थापाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति असहमति जनाउँदै आएका छन्। 

यसरी दुई फरक–फरक धारको राजनीति गर्दै आएका भट्टराई र थापा समय–समयमा एकअर्काको आलोचनामा उत्रिँदै आएका छन्। जनयुद्धमा सहभागी माओवादी पार्टी छाडेर वैकल्पिक राजनीतिको नाम दिँदै जनता समाजवादी पार्टीमा रहेका भट्टराईलाई उनको द्वन्द्वको इतिहासले भने छाडेको छैन। 

कमल थापाबाहेक भट्टराईको विरोधमा धेरै ट्वीटर प्रयोगकर्ता उत्रिएका छन्। उनको ट्वीटलाई हिन्दुविरोधी भावनाका रूपमा धेरैले लिएका छन्। नेपालमा मात्रै नभई भारतमा पनि भट्टराईको ट्वीटप्रति ध्यानाकर्षण भएको छ।

भट्टराईको ट्वीटप्रति भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले पनि आपत्ति जनाएका छन्। भट्टराईको हिन्दुको विश्वास र अनुष्ठानहरूको अपमान गरेको आरोप चौथाइवालाले लगाएका छन्। 

उनले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमार्फत् अंग्रेजीमा छन्, ‘प्रिय बाबुरामजी, यो स्पष्ट छ कि तपाईं र तपाईंका सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वास र अनुष्ठानहरूको अपमान गर्नु अपेक्षित छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाएर राजतन्त्र र हिन्दु राज्य स्थापनाका प्रयत्न भइरहेको र त्यसमा नेपालको हिन्दूवादी मोर्चा र भारतको राष्ट्रिय स्वयंसेवक संघको गठजोडमा तत्कालीन प्रधानमन्त्री ओलीको पनि संलग्नता रहेको भन्दै भट्टराईले जेठमा भारतीय पत्रिका ‘द हिन्दू’ मा लेख लेखेका थिए। उक्त लेखमा भारतीय सत्तारूढ भाजपाको ठाडो विरोधमा भट्टराई उत्रिएका थिए।

Logo