स्पष्टीकरणप्रति ओलीलाई माधवपक्षको कडा चेतावनी (भिडियोसहित)

स्पष्टीकरणप्रति ओलीलाई माधवपक्षको कडा चेतावनी (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेले ३ साउनमा फ्लोरक्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्चले व्याख्या गरे विपरित स्पष्टीकरण पत्र पठाएको हो । यता, नेकपा एमालेको माधव नेपाल पक्षले भने पार्टी एकता विरोधि कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बिपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरि मनाईएको छ। प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेताका रुपमा चिनिन्छन्। यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको स्थापना गरि राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका बीपी एक भर्सटाइल नेता भएको बताएका छन्। २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बीपीको योगदान नेपाली राजनीतिमा अतुलनिय रहेको पनि देउवाको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। अबको आर्थिक उत्थानको विकल्प कोरोना नियन्त्रण रहेको भन्दै प्रधानमन्त्रीले देशलाई महामारीबाट मुक्त गर्न उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखेका हुन्। यस्तै अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताएका छन्। अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत  र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको भन्दै त्यसतर्फ जोड दिनुपर्ने बताएका छन्। 

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३२ औं संस्करण जुलाई २३ अर्थात् शुक्रबारदेखि शुरु हुँदैछ। खेलाडीहरूको खेल कौशल देखाउने स्थानको रुपमा लिइने ओलम्पिकमा यसपटक ४ खेलमा ५ जना नेपाली खेलाडीहरू प्रतिस्पर्धाका लागि सहभागि हुँदैछन्। 

भारी वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै दर्जन बढी शहरहरु डुवानमा परेका छन्। वर्षा र बाढीका कारण त्यहाँका १२ जनाको मृत्यु भएको तथा हजारौंको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मुख्य सडकहरू तथा उडानहरू रद्द भएको जनाइएको छ भने, झन्डै ९ करोड बढी जनसंख्या प्रभावित भएको छ। 

Logo