प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस वाग्मती प्रदेशको आग्रह

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस वाग्मती प्रदेशको आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशका समस्या समाधानका लागि अनुरोध गरेका छन्। उनले प्रधानमन्त्री देउवालाई कोरोना भाइरसको सङ्क्रमणका कारण देश आक्रान्त रहेको अवस्थामा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने वातावरण सिर्जना गर्न आग्रह गरे। 

कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदूर र खाद्यान्नको अभाव झेलिरहेका विपन्न वर्ग रोग र भोकसँग लडिरहेकाले खाद्यान्न उपलब्ध गराउनका लागि सङ्घीय सरकारको पूरक बजेटमार्फत् रकम उपलब्ध गराउन नेता बानियाँले अनुरोध गरेको कांग्रेस वाग्मती प्रदेश संसदीय दलले जनाएको छ।

सोही अवसरमा उनले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत विभिन्न जिल्लामा प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएकोले विपद्का कारण घरबारविहीन भएका जनतालाई तत्काल घरबासको व्यवस्था र उचित राहतको व्यवस्थाका लागि अनुरोध गरेका छन्।

संसदीय दलले पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि भएको लकडाउन एवं निषेधाज्ञाका कारण साना, मझौला एवं ठूला व्यवसाय, उद्योग, कलकारखाना, कृषि क्षेत्र धराशायी भएकाले राष्ट्र बैंकले साउन १५ गते ल्याउने मौद्रिक नीतिमार्फत कोरोनाका कारण मारमा परेका उद्योग, व्यवसायलाई सहयोग पुग्ने कार्यक्रममा सरकारको ध्यान पुगोस भनी सुझाव पनि दिएका छन्। 
 
उनले कृषि प्रधान देशका कृषकले रासायनिक मल, बीउबिजन, सिँचाइको समस्या झेलिरहनुपरेको भन्दै नेपाली कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेकाले यसतर्फ ध्यान दिनसमेत आग्रह गरे। 

संसदीय दलका नेता बानियाँले विगतदेखि अहिलेसम्म जनताका हरेक दुःख सुखमा निरन्तर उभिएको र जनताको पक्षमा सधैँ सडकदेखि सरकारसम्म नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको वर्तमान सरकारले सबै वर्ग र तहका नागरिकको मन छुने काम गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

उनले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सम्पूर्ण जातजाति, भाषा, धर्म, लिङ्ग, समुदाय, उत्पीडित वर्गको हो भन्ने प्रत्याभूति गराउने ढङ्गले काम अघि बढाउनेमा विश्वास व्यक्त गर्दै कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगै देश एवं वाग्मती प्रदेशका जनतामा आशा एवं भरोसा बढेकोसमेत बताए। 

संसदीय दलका नेता बानियाँसहित नेपाली कांग्रेस वाग्मती प्रदेशकी प्रमुख सचेतक राधा घले, सचेतक छिरिङ दोर्जे लामा र कांग्रेसका अन्य प्रदेशसभा सदस्यसहितको टोलीले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।रासस

Logo