देश विकास गर्न हावादारी योजना नल्याउन प्रधानमन्त्रीलाई भनेको छुः माधव नेपाल

देश विकास गर्न हावादारी योजना नल्याउन प्रधानमन्त्रीलाई भनेको छुः माधव नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो देश निर्माणको कुरा गर्दा हावादारी योजना नल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताएका छन्।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले श्रेष्ठको स्मृति दिवसको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्ता हावादारी योजना भए हटाउन आग्रह गरिएको बताए।

हावादारी योजनाले देशको विकास नहुने उनको भनाइ छ। उनले पैसाकै कारण भ्रष्टाचार हुने गरेको र त्यसबाट देश पीडित भएको पनि बताए। भ्रष्टाचारमुक्त हुन पनि आग्रह गरिएको नेपालले बताए।

‘भ्रष्टाचारले देश आक्रान्त छ। पीडित भएको छ। यो पैसा…पैसा पैसा…अनि, करप्सन’, कार्यक्रममा नेपालले भने, ‘यसबाट मुक्त हुनुहोस्। तपाईंको सरकार मुक्त हुनुहोस्। पैसालाई पानीमा भिजाएर, उमालेर खाने? भुटेर खाने?’

नेता नेपालले देउवा नेतृत्वको सरकारलाई फाइदा विश्लेषण गरेर देश निर्माणको योजना ल्याउन आवश्यक रहेको पनि बताए।

त्यसका लागि प्राथमिकता छुट्याएर कृषि, उद्यम, जलविधुतसँगै अनेकन पक्ष समेटेर विकासको प्याकेज बनाउन भनिएको पनि बताएका छन्।

यस्तै उनले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै कम्युनिस्ट पार्टीमा नेता भन्दा नीति प्रधान हुने गरेको तर ओली प्रधान भएको टिप्पणी गरे।

Logo