माधव पक्षका सांसद भन्छन्-यही स्थितिमा जिल्ला गइसक्नु छैन, एकता नभए नयाँ पार्टी खोल्नुपर्‍यो

माधव पक्षका सांसद भन्छन्-यही स्थितिमा जिल्ला गइसक्नु छैन, एकता नभए नयाँ पार्टी खोल्नुपर्‍यो


प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन राजधानी आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले जिल्ला फर्किन ‘अप्ठ्यारो’ भएको बताएका छन्।

सहज राजनीतिक परिस्थितिपछि मात्रै जिल्ला फर्किने उनीहरूको भनाइ छ। के हो त सहज राजनीतिक परिस्थिति? दाङ निर्वाचन क्षेत्र नम्बर–३ का सांसद हीरा केसीले भन्छन्, ‘भए एमाले एकता, नभए नयाँ पार्टी।’

उनले पार्टी एकता भए जिल्ला जान बढी सहज हुने बताए। तर, कुनै पनि हालतमा पार्टी एकता नभइ विभाजन भएको अवस्थामा नयाँ पार्टी खोलिए नयाँ राजनीतिक कार्यक्रम लिएर भए पनि जिल्ला जानुपर्ने बताए। 

हुन त एमालेको दोस्रो तहका नेताहरू फेरि पार्टी एकतामा बल गरिरहेका छन्। फेरि, अध्यक्ष केपी ओली पनि बिहीबारदेखि ‘निक्कै नरम’ भएका छन्। यतिसम्मकि साधारण सदस्यतासमेतबाट हटाइदिने चेतावनीसहितको स्पष्टीकरण सोधिएको तीन दिनपछि ओलीले आममाफीको समेत घोषणा गरे।

विधानमै नभएको दोस्रो अध्यक्ष पनि दिने बताए। तर, एकता भइहाल्छ वा विभाजन भइहाल्छ भन्ने निश्चित छैन। 

माधवपक्षकै अर्का सांसद भवानीप्रसाद खापुङले जिल्लामा अध्यक्ष ओलीपक्षीय कार्यकर्ताले आफ्नो पुत्लासमेत दहन गरेको बताए।

‘जिल्लामा गइसक्नु छैन, मेरो त पुत्लासमेत दहन गरिसके, तपाईंहरूले थाहा पाउनुभयो होला’, सांसद खापुङले केन्द्रविन्दुसँग भने, ‘कि पार्टी एकता, नभए नयाँ पार्टी खोलिएको अवस्थामा जिल्ला जान सहज हुन्छ।’

नेपाल पक्षविना तीन दिनसम्म (साउन ४–६) बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ।

जबकि, २९ असारमा सिंहदरबारदेखि भक्तपुरस्थित बालकोटमा रहेको घर पुगेका एमाले अध्यक्ष ओलीले घरको बार्दलीबाट माधवकुमार नेपाललाई एमालेमा स्थान नभएको बताएका थिए।

तर, चकित हुने गरि ओलीले बिहीबार विगतका गल्ती, कमीकमजोरी भुल्दै एकता प्रक्रियामा जुट्न अपिल गरेपछि कतै पार्टी एकता भइहाल्छ कि भन्ने नेता नेपालपक्षीय सांसदहरूलाई लागेको छ।

सांसद केसीले पार्टी एकताका लागि एउटा विकल्प सुझाए। उनका अनुसार पार्टीको हरेक निर्णय प्रक्रियामा नेता नेपालको पनि सहमति अनिवार्य बनाउनुपर्छ। दोस्रो अध्यक्ष पद नचाहिने बताए।

‘एकताका लागि दोस्रो अध्यक्षको कुरा सुन्दैछु, त्यो ठीक होइन, विधानले परिकल्पना नगरेको दोस्रो अध्यक्ष पद नेता नेपाललाई दिनुपर्दैन’, सांसद केसीले भने, ‘पार्टीको हरेक निर्णयलाई अन्तिम रूप दिन नेता नेपालको सहमति अनिवार्य गर्नुपर्छ, त्यति भए पुग्छ।’

नवौं राष्ट्रिय महाधिवेशनबाट पारित एमालेको विधानमा दोस्रो अध्यक्षको व्यवस्था छैन। यदि, विधान संशोधन गर्दै नेपाललाई दोस्रो अध्यक्ष राखिए सन्देश राम्रो नजाने अर्का सांसद खापुङ बताउँछन्।

नेपाल पक्षका अन्य नेताहरूले भने नेता नेपाललाई अधिकारसहित सम्मानजनक स्थान पार्टीमा दिनुपर्ने बताउने गरेका छन्।

जुन ‘नियन्त्रण र सन्तुलन’ का लागि आवश्यक हुने माधवपक्षीय स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको भनाइ छ।

विगतमा नियन्त्रण र सन्तुलन नहुँदा पार्टी यो हालतमा आइपुगेको उनको ठम्याइ छ। तर, अध्यक्ष ओलीले पार्टीमा एकता कायम भएको अवस्थामा फेरि पेलेर अघि बढ्छन् भन्ने संशय माधव पक्षमा केही नेताहरूको धारणा छ।

उनीहरूले ३ साउनमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। देउवा चाहिँ सर्वोच्च अदालतको २८ असारको फैसलाअनुसार प्रधानमन्त्री भएका हुन्।

Logo