ओली अहिले बालकोटको बार्दलीमा बसेर बर्बराउँदैछन्ः प्रचण्ड (भिडियोसहित)

ओली अहिले बालकोटको बार्दलीमा बसेर बर्बराउँदैछन्ः प्रचण्ड (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री पद माग्नेहरूको हुलले आफूलाई घेराबन्दीमा पारेको बताएका छन्। उनले एमाले अध्यक्ष केपी ओलीलाई नराम्रोसँग पछारिएर अहिले बार्दलीमा बसेर बर्बराउँदै गरेको आरोप पनि लगाएका छन् । प्रचण्डले आफूले ठूलो लडाइँ जितेसँगै संविधान र राष्ट्रियता खतराको डिलमा पुर्याउने ओलीलाई बार्दलीमा पुर्याएको उल्लेख गरे। एमसीसीको कुरा छिराएर गठबन्धन फूटाउने खेल भएको पनि प्रचण्डको जिकिर छ।

पटक पटक सरेको कांग्रेस महाधिवेशन यसपटक पनि समयमै हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ। नेपाली कांग्रेसको तल्लो तहको सबै अधिवेशन स्थगित भएसँगै अधिवेशन समयमै होला र भन्ने शंका उत्पन्न भएको हो। आगामी १२ गतेबाट सुरु हुने कांग्रेसको महाधिवेशन अन्तिम समयमा पदाधिकारी बैठक बसेर स्थगन गर्ने निर्णय गर्यो । तथापि कांग्रेसले केन्द्रीय महाधिवेशनको तालिका यथावत रहेको जनाएको छ।

भन्सार विभागको तथ्यांकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा आयात २८.६६ प्रतिशतले बढ्दा निर्यात ४४.४६ प्रतिशत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आयातसँगै निर्यात पनि वृद्धि भएको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपालले ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँ बराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात भएको थियो। 

टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्। उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन्। यता नेपालबाट टोकियो ओलिम्पिकमा सहभागि सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन्। तर सुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरेकी छिन्। 

हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफस्वरूप चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेका छन्। यसअघि हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। 

Logo