एमाले पार्टी एकताका लागि दुबै पक्षबाट दवाव अभियान सुरु

एमाले पार्टी एकताका लागि दुबै पक्षबाट दवाव अभियान सुरु


नेकपा एमालेका दुवै पक्षका सांसदहरूले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन्। 

१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरूसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन्। 

आइतबार सिंहदरवारमा विघटित कार्य दलका संयोजक तथा सदस्यहरूसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सांसद कृष्णप्रसाद दाहाल भन्छन्, “पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी दवाव दिन्छौं । पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं ।”

सांसदहरूले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्क समेत गरेका छन्। छलफलमा विघटित पार्टी एकता कार्य दलका संयोजक तथा सदस्यहरूले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यक्ताबारे सांसदहरूलाई जानकारी गराएका थिए।  

विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले भने, “हामीले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरूलाई जानकारी गरायौं। उहाँहरूले पनि पार्टीलाई एक मतले एकतावद्ध बनाएर अघि लैजान जोड दिनु भयो। हामीहरूले एमाले एकतावद्ध भएर अघि बढने विश्वास दिलायौं।”

बैठकमा विघटित कार्य दलका ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्य दलका सदस्यका साथै दुवै पक्षका २ दर्जन बढी सांसदहरूको  उपस्थिति थियो।

Logo