ओली पक्ष र मावध पक्षबीच समितिको बैठकमै चर्काचर्की (भिडियोसहित)

ओली पक्ष र मावध पक्षबीच समितिको बैठकमै चर्काचर्की (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट संघीय संसदमा समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठले आजै सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सपथ ग्रहणसँगै श्रेष्ठले कोरोना खोपलाई विशेष प्राथमिकता दिने बताएका छन्। शिक्षा, जलविद्युत, बैंक, पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी रहेका श्रेष्ठ ललितपुरको हात्तिवनमा रहेको लिटिल एन्जल्स स्कुलका संस्थापक समेत हुन्।

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जसपाको कार्यकारिणी समितिलाई मान्यता नदिन र साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरिएकोमा सर्वोच्चले अस्वीकार गरेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि यही साउन १५ गते भने छलफलका लागि ठाकुरसँगै निर्वाचन आयोगलाई बोलाएको छ।

सांसदहरुले नेपालको परराष्ट्र नीतिमा एकरुपता नभएको भन्दै परराष्ट्र नीतिमा एकरुपता ल्याउनुपर्ने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले नेपालको परराष्ट्र नीति तथा कुटनीतिमा एकरुपता नभएको भन्दै यसलाई एकरुप बनाउनुपर्नेमा जोड दिएका छन्। यसअघि समितिले गरेका अध्ययन गरेर दिने सुझाव र निर्देशनलाई अघिल्लो सरकारले गम्भिरतापूर्वक नलिएको सांसदहरूले टिप्पणी पनि गरेका छन्।

आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन्। व्यवसायीहरू कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका छन्।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट एन्फाकै पदाधिकारीबाट राजीनामा दिनु पर्ने भएको उल्लेख गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको पनि खुलाएका छन्। यता एन्फाले भने अलमुताइरीको औपचारिक राजीनामा नआएको र राजीनामा फिर्ता लिन आग्रह पनि गरिएको बताएको छ।

Logo