१० असोज २०७८ आइतबार
केन्द्रबिन्दु बुलेटिन

संघीयता खारेजी र धर्मनिरपेक्षताको एजेन्डामा रवीन्द्र मिश्र (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सारेका छन् । “मार्ग परिवर्तनः विचारभन्दा माथि देश अर्थात् ‘नेसन अभोव नेसन’  नामक अवधारणा पत्र पार्टीमा छलफलका लागि पेश गर्दै मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षता परिमार्जन हुनुपर्ने मत व्यक्त गरेका हुन् । यद्यपि उनकै पार्टीका नेताहरूले उक्त दस्तावेज प्रति असन्तुष्टि जनाएका छन्। 

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको खेमालाई दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्। पार्टी विवाद टुङ्ग्याउनका लागि आयोगले दुई दल एकीकरण भएका बेलाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई सोमवार स्वयं उपस्थित भई सनाखत गर्न भनेको थियो। जसक्रममा ३४ सदस्यहरूले यादव पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा आयोगमा उपस्थित भएर हस्ताक्षर गरेको र एकजना सांसद रेशम चौधरी कुनै पनि पक्षमा नउभिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। 

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद समेत दिएका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छिन्। उनले आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने तर्क पनि अघि सारेकी छिन्। मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि जानकारी गराएकी छिन्। 

भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ। समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्य सहित तयारीलाई तीब्रता दिइरहेको छ।

प्रकाशित: ११ साउन २०७८ २१:१६ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी