सरकारद्वारा प्रदेश प्रमुखहरू हेरफेर (भिडियोसहित)

सरकारद्वारा प्रदेश प्रमुखहरू हेरफेर (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी र गण्डकी प्रदेश प्रमुख हेरफेर गरेको छ। सरकारले  पृथ्वीमान सिंह गुरुङलाई गण्डकीमा र अमिक शेरचनलाई लुम्बिनी प्रदेशमा नियुक्तिको लागि सिफारिस गरेको हो। यस्तै मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश दुईका प्रदेश प्रमुख हटाउने निर्णय गर्नका साथै राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसहितका पादाधिकारी पनि नियुक्त गरेको छ। यस्तै मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ। यता, एमाले माधवकुमार नेपाल पक्ष सरकारमा जाने भएको छ भने, जसपाको आधिकारिकता गुमाएको दलविहीन महन्थ ठाकुर पक्षले सरकारमा नजाने निर्णय गरेको छ।

नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको विवरणसहितको प्रतिवेदन बुझाएको छ। समितिका अनुसार केही जिल्ला र विदेशस्थित जनसम्पर्क मञ्चहरूले पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण भने समितिले समावेश गर्न बाँकी रहेको जनाएको छ। अघिल्लो महाधिवेशन भन्दा आसन्न १४औं महाधिवेशनमा क्रियाशिल सदस्यता संख्या दोब्बरले वृद्धी भएको पनि कांग्रेसले जनाएको छ।

पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतकै फैसलालाई सदर मान्दै पाटन उच्च अदालतले महरालाई सफाइ दिएको हो । न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाइ दिएको हो । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो ।

सोमबार सामान्य करेक्सन देखिएको पुँजीबजार मापक नेप्से आज पुनः उच्च अंकले बढेको छ। आज कारोबार रकम पनि बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.२३ अंकले बढेर ३०७९.६६ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज कूल १५ अर्ब १७ करोड छ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२५ वटा कम्पनीका तीन करोड २३ लाख ५५ हजार ३६० कित्ता शेयर एक लाख ४१ हजार ६५२ पटक खरिद–बिक्री भएका थिए।

नेपाली पौडी खेलाडी एलेक्सजान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा आफ्नो हिटमा पहिलो भएका उनले आफ्नै कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेकोमा हाल उनले ५३. ४१ सेकेन्डमा नयाँ रेकर्ड बनाएका हुन्। यद्यपि उनले प्रतियोगितामा उत्कृष्ट १६ मा स्थान बनाउन भने सकेनन्। अब पोडीतफै नेपालकी गौरिका सिंहको प्रतिस्पर्धा बुधबार हुनेछ।  

Logo