कांग्रेसले टुंग्यायो ९६ प्रतिशत क्रियाशील सदस्यता, बाँकी काम सक्न पाँच दिनको समयसीमा

कांग्रेसले टुंग्यायो ९६ प्रतिशत क्रियाशील सदस्यता, बाँकी काम सक्न पाँच दिनको समयसीमा


नेपाली कांग्रेसको क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगिएको छ। छानविन समितिका प्रवक्ता प्रदीप पौडेलले दिएको जानकारी अनुसार क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगो लागेको हो। ९६ प्रतिशत विवाद टुंगिएसँगै निर्धारित समयमा महाधिवेशन गर्न अब कुनै बाधा नहुने बिहीबार बसेको पदाधिकारी बैठकमा जानकारी दिइएको छ।

समितिले विवाद भएका केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन पनि आजै बुझाएको र प्रतिवेदनमाथि आज पदाधिकारी बैठकले छलफल पनि गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता बारेमा सिन्धुपाल्चोक, बारा, सर्लाही, कैलाली, धादिङ, मकवानपुर लगायत जिल्लामा विवाद कायमै छ।

क्रियाशील सदस्यतामा देखिएको समस्या टुंग्याउन कांग्रेस नेताहरूले ५ दिनको समय मागेको पनि क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन्। आजको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे नटुंगिएको विषय ५ दिनभित्र टुंग्याउने निर्णय गरेको हो। अरु पार्टीबाट समायोजनमा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेकोले त्यो नेताहरूले अध्ययन गरे टुंग्याउने नेता लेखकले जानकारी दिए। 

यसअघि नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको विवरणसहितको प्रतिवेदन बुझाएको थियो। विवरणअनुसार ६ लाख ५३ हजार ८३८ जना क्रियाशील सदस्य पुरुष तथा एक लाख ९९ हजार ९७ जना महिला रहेका छन्। यस्तै १ सय ७६ जना तेस्राेलिङ्गी रहेका छन्। 

समितिका अनुसार निर्धारित समयमा क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कूल संख्या आठ लाख ५२ हजार ७११ जना छन्। १३ औं महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्य चार लाख ८० हजार मात्रै रहेको र आसन्न १४ औं महाधिवेशनमा भने ठीक दोब्बर सदस्य हुने तथ्यांकले देखाएको हो।

Logo