देउवालाई मत नदिने भीम रावलसहित १० सांसद एमाले एकता जोगाउने अन्तिम कसरतमा

देउवालाई मत नदिने भीम रावलसहित १० सांसद एमाले एकता जोगाउने अन्तिम कसरतमा


प्रधानमन्त्री शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत लिँदा तटस्थ बसेका एमालेका माधव पक्षीय १० सांसद पार्टीमा एकता कायम गर्न क्रियाशील भएर लागिरहेका छन्।

आफ्नै पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट दर्ता गराएका माधव पक्षीय १० नेताहरू साउन ३ मा एकाएक ‘युटर्न’ भए।

पार्टी एकता कायम गर्ने भन्दै उनीहरूले मत दिएनन्। तथापि, यस बीचमा उनीहरूको सक्रियता भने कम देखिएको थियो।

वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट ती १० सांसदभन्दा आफूसँगै देउवालाई विश्वासको मत दिन गएका २२ जनालाई बढी चासो दिन थालेपछि उनीहरू भूमिकाविहीन भएका थिए।

तर, पछिल्लो समय उनीहरू पुनः पार्टी एकताका लागि सक्रिय भएर लागेका छन्। विघटित कार्यदल संयोजक माधवपक्षीय नेता भीम रावल भन्छन्, ‘हामी सक्रिय भएर विवाद निरुपणका लागि लागिरहेका छौं।’

तथापि, एमाले कचिंगल झन् बढ्दैै गएको छ। माधव पक्ष र ओली पक्षले आ–आफ्नो अडान राखेका कारण विवाद निरुपणको दिशामा नभएर झनै अन्योल सिर्जना भएको हो।

ओलीसँग नमिल्न माधव पक्षका २२ जनाको अडान र माधव पक्ष नआए पेलेर भए पनि जानुपर्ने ओली पक्षका नेताहरूको दबाबले यो अवस्था निम्तिएको मध्यमार्गी धारमा बसेका नेताहरूको भनाइ छ। 

Logo