लुम्बिनी प्रदेशः जसपाका ३ मन्त्री सांसद पदबाटै पदमुक्त, सरकार धरापमा

लुम्बिनी प्रदेशः जसपाका ३ मन्त्री सांसद पदबाटै पदमुक्त, सरकार धरापमा


लुम्बिनी प्रदेशसभाका जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन्।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन्। 

उनीहरू तीनै जना लुम्बिनी प्रदेश सरकारका मन्त्री थिए। पदमुक्त भएसँगै उनीहरूको मन्त्री पदबाट मुक्त भएका छन्।

उनीहरूविरुद्ध जसपा लुम्बिनी प्रदेश संसदीय दलले कारबाहीको माग गर्दै बिहीबार प्रदेश सचिवालयमा पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रदेश सचिवालयले जसपाका तीन सांसद कारबाहीमा परेका हुन्।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरिएको थियो।

जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। तर, तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन्। 

जसपा उपेन्द्र यादव पक्षले पाएपछि लुम्बिनी प्रदेशमा पनि यादव पक्षको संसदीय दलमा बहुमत छ। बहुमतकै आधारमा उनीहरूलाई कारबाही गरिएको थियो।

संसद सचिवालयको कारबाहीमा परेका ३ सांसदहरू कारबाहीविरुद्ध सर्वोच्च अदालत जाने ठाउँ भने बाँकी छ। सर्वोच्चले उनीहरूलाई पद थमौती गरिदिए मात्र उनीहरू अब सांसद बन्नेछन्।

यो सँगै लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ। जम्मा ४१/४१ रहेका संसदीय अंकगणित सरकारको पक्षमा अब ३८ मात्र संख्या रहेको छ। संख्या ३८ एमालेको मात्रै संख्या हो। विपक्षीलाई ३ सांसदको कारबाहीसँगै बहुमत पुर्याउन सहज भएको छ।

Logo