लुम्बिनी प्रदेशसभाका जसपाका तीन जना सांसद पदमुक्त (भिडियोसहित)

लुम्बिनी प्रदेशसभाका जसपाका तीन जना सांसद पदमुक्त (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

लुम्बिनी प्रदेशसभाका जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन्। पदमुक्त भएसँगै उनीहरूको मन्त्री पदबाट मुक्त भएका छन्। उनीहरूविरुद्ध जसपा लुम्बिनी प्रदेश संसदीय दलले कारबाहीको माग गर्दै बिहीबार प्रदेश सचिवालयमा पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रदेश सचिवालयले जसपाका तीन सांसद कारबाहीमा परेका हुन्। योसँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ।

काठमाडौ–ताराई मधेस द्रुतमार्गको प्रगती खासै उल्लेख्य रूपमा नभएको नेपाली सेनाले शुक्रबार सार्वजनिक गरेको प्रगती विवरणले देखाएको छ। चार वर्षमा सक्नुपर्ने काम दुई वर्षमा कुल १६ प्रतिशत मात्र काम भएको प्रगती विवरणले देखाएको छ। यसको अर्थ निर्धारित समयको अबको दुई वर्षमा सक्नु पर्ने ८४ प्रतिशत काम बाँकी नै छ। यस्तै नेपाली सेनाले दु्रतमार्ग आयोजना निर्माणको क्रममा खोकना र बुङ्मतिमा देखिएको जग्गा प्राप्तिसँग सम्बन्धित विवादको समाधान आफ्नो तहबाट समाधान हुन नसकेको जनाएको छ। 

सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने बताएका छन्। उनले वर्तमान सरकारलाई कहिँकतै नचुक्न पनि आग्रहगरेका छन्। नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्। उनले पार्टीको विधानले क्रियाशील सदस्ययता सम्बन्धी विवाद केन्द्रिय कार्य समितिबाट समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाएका छन्। 

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छिन्। भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन्। यस्तै, चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र नेपाली राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत याङ्छीले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरु नेपालको साथमा रहँदै आएको बताएकी छिन्। 

जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा नेपाल पदकविहिन भएर रित्तो हात घर फिर्किएको छ। ओलम्पिक २०२० मा नेपालका तर्फबाट पाँच खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। ‘टोकियो ओलम्पिक’को पदक तालिकामा चीन भने शीर्ष स्थानमा यथावत नै रहेको छ। ओलम्पिकको सातौं दिन सकिँदा आयोजक राष्ट्र जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

Logo