ओली र नेपालबीच ‘वान टु वान’ वार्ता गराउन विघटित कार्यदलका सदस्य छलफलमा

ओली र नेपालबीच ‘वान टु वान’ वार्ता गराउन विघटित कार्यदलका सदस्य छलफलमा


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता गराउने प्रयास गर्न विघटित कार्यदलका नेताहरू आज पनि छलफलमा छन्।

दुई नेताबीचको लामो समयको संवादहिनता तोडाउन नेताहरू पुनः छलफलमा जुटेका हुन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी बैठक बसिरहेको छ।

विघटित कार्यदलका दुवै पक्षका नेताहरू एकता प्रयासका लागि शीर्ष नेताहरूलाई संवादमा ल्याउन प्रयासमा छन्, तथापि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल हुन सकेको छैन।

एमाले दोस्रो तहका नेताहरूले असार २७ देखि नै दुई नेताहरूबीच संवाद गराउन खोजिरहेका छन्। आजै एमालेले स्थायी कमिटी बैठक पनि अपरान्ह तीन बजेका लागि बोलाएको छ।

अध्यक्ष ओलीले एकताको नाममा लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै आज टुंगोमा पुग्न कार्यदलका नेताहरूलाई आग्रहसमेत गरेका छन्। बैठकअघि एउटा निचोडमा पुग्न विघटित कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन्। 

माधव नेपाललाई एकताको पक्षमा मनाउन ओली पक्षीय नेताहरु पौडेल र नेम्वाङले शुक्रबार र शनिबार पालैपालो भेटेका थिए। 

नेपालले आउने महाधिवेशनसम्म ओली सरह बराबर हैसियत, अधिकारसहितको अध्यक्ष माग गरेका छन्।

Logo