सरकार कोरोना संक्रमितको नाम र ठेगाना लुकाउँदै, सङ्क्रमित भने सामाजिक सञ्जालमा खुल्दै

सरकार कोरोना संक्रमितको नाम र ठेगाना लुकाउँदै, सङ्क्रमित भने सामाजिक सञ्जालमा खुल्दै


काठमाडौं ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आफूहरुलाई सङ्क्रमण भएको सामाजिक सञ्जालबाटै जानकारी गराए।

मुख्य सल्लाहकार रिमालले सङ्क्रमण देखिएपछि शनिबार सामाजिक सञ्जालमा लेखेका थिए, “हिजो पिसिआर परीक्षण गराउँदा कोभिड–१९ पोजेटिभ देखियो । यसैबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।” यस्तै प्रेस सल्लाहकार थापाले पनि गत शनिबार नै “हिजोको पिसिआर परीक्षणको क्रममा ममा कोरोना पोजेटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनु भएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,” भनेर लेखेका थिए ।

यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि असोज १७ गते शनिबार आफू सङ्क्रमित भएको जानकारी सामाजिक सञ्जालबाट गराए। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको बताए । उनले आफ्नो सम्पर्कमा रहेका सबैले सजगता अपनाउनु हुनसमेत अनुरोध गरे ।

हास्य कलाकार हरिवंश आचार्यले पनि सामाजिक संजाल मार्फत आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । केही समय अघि नेपाली काँग्रेसका सांसद विनोद चौधरी, महामन्त्री शशांक कोइराला, उद्योगी चन्द्र ढकाल लगायतले पनि यसरी नै जानकारी दिएका थिए ।

पहिले सङ्क्रमितले न आफूले सङ्क्रमण भएको जानकारी गराउँथे, न सरकारले नै । अहिले यसरी कोभिड–१९ का सङ्क्रमितहरु आफैँ खुल्न थालेका छन् । विशेषगरी सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिँदै आएका छन् । यस सूचीमा थुप्रै राजनीतिक दलका नेता, कलाकार, चिकित्सक लगायत अन्य व्यक्तिहरु छन् ।

उनीहरु जस्ता समाजका जिम्मेवार व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराउँदै सङ्क्रमणबाट बच्न सबैलाई अनुरोधसमेत गरेका हुन् । सरकारले सङ्क्रमितको बारेमा जानकारी नगराए पनि सङ्क्रमित आफैँ खुल्न थालेका हुन् । अहिले सङ्क्रमित भएको अवस्थामा नै उनीहरुले कोभिड–१९ बाट बच्नका लागि उच्च सर्तकता राख्नसमेत अनुरोध गर्दै सामाजिक सञ्जालमा भिडियो बनाउने गरेका छन् । नेपालको पहिलो सङ्क्रमित को हो भनेर अझै सरकारले खुलाएको छैन ।

चीनको वुहान शहरबाट नेपाल आएका ती व्यक्ति को हुन् कहिले सङ्क्रमण भएको र कहिले निको भएको हो भन्ने सरकारले अझै औपचारिक रुपमा जानकारी गराएको छैन । ती व्यक्तिलाई माघ १० गते सङ्क्रमण भएको मात्र मन्त्रालयले अनौपचारिक रुपमा जानकारी गराएको छ । अहिले सङ्क्रमण फैलिन थालेपछि सङ्क्रमितहरु भने आफैँ सङ्क्रमण भएको जानकारी गराउँदै आएका छन् । अहिले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित, निको र निधन हुनेको जानकारी गराउँदै आएका छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सङ्क्रमित भएको रिर्पोट सिधै सम्बन्धित व्यक्तिलाई दिने भनेको छ । पहिले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र रिर्पोट दिने गर्दथ्यो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित व्यक्तिले अरुलाई पनि सङ्क्रमण नहोस् भनेर जानकारी गराउन पनि सङ्क्रमित खुल्ने गरेको बताए । उपत्यकामा पनि घरबेटीले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत सर्वसाधारण सङ्क्रमितलाई बस्न नदिएको कुरा सार्वजनिक भएको थियो । मन्त्रालयले पटकपटक सङ्क्रमितलाई घरबाट ननिकाल्न घरबेटीलाई आग्रह गर्दै आइरहेको छ ।

मनोचिकित्सक डा अरुणा उप्रेतीले कोभिड–१९ को त्रास कम हुँदै जानु र विस्तारै सचेतना फैलिँदै गएपछि सङ्क्रमित खुल्न थालेको बताइन् । उनले अहिले शिक्षित, बुद्धिजीवी सङ्क्रमणबारे खुल्न थालेको बताइन् । “पहिले पनि क्षयरोग, कुष्टरोग, एचआइभी एड्सजस्ता रोगलाई लुकाउने गरेको थियो । औषधि बनेपछि ती रोगका बिरामी आफैँ खुल्न थालेका थिए” उनले भनिन् , “शुरु शुरुमा कोभिड–१९ लागेका मानिसलाई सङ्क्रण देखिएपछि घरपरिवार र समुदायका मानिस सबैलाई सर्छ भन्ने थियो । अहिले त्यस्तो देखिएन । कोभिड–१९ केही होइन भन्ने मानिसमा सचेतना भयो । त्यही भएर खुल्न थालेका छन् ।”

कोभिड–१९ बाट सङ्क्रमित पत्रकार मात्रिका पौडेलले सार्वजनिक ठाउँ समारोहमा जाने व्यक्तिमा सङ्क्रमित भयो भनेर जानकारी गराउँदा सम्पर्कमा आएमा मानिसले सतर्कता अपनाउने बताए । उनलाई गत बिहीबार सङ्क्रमण भएको थियो । उनले आफू पहिल्यैदेखि नै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने व्यक्ति सङ्क्रमित भएको खण्डमा सबैलाई जानकारी गराउनु भन्दै आएको बताए । “हामी धेरै मानिससँग सम्पर्कमा गएका हुन्छौँ,” उनले भने, “हामीले को कोलाई भेटेको भन्ने थाहा हुँदैन । त्यही भएर सार्वजनिक व्यक्तिले सङ्क्रमण भएको जानकारी गराउँदा अरुले सजकता अपनाउँछन् ।”

मनोचिकित्सक डा उप्रेतीले अहिले पनि गाउँघरमा सङ्क्रमित खुल्न नसकेको बताइन् । उनले समाजमा सङ्क्रमितलाई भेदभावको रुपमा हेर्ने जस्ता क्रियाकलाप हुँदै आएको जानकारी दिइन् । नेपालमा आजसम्म ९० हजार ८१४ सङ्क्रमित, ६७ हजार ५४२ निको र ५६३ निधन भइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बिरामीको अनुमति बिना बिरामीको बारेमा जानकारी गराउन नमिल्ने बताए। उनले अहिले कोभिड–१९ को सङ्क्रमण सबैलाई लाग्ने भएकोले शिक्षित व्यक्तिले आफू सङ्क्रमित भएको जानकारी गराएर सूसूचित गरिरहेको बताए। “यो रोग लुकाए झनै समस्या हुन्छ । आफू सङ्क्रमित भएको जानकारी गराउँदा रोकथाम र नियन्त्रणमा सहयोग पुग्दछ” उनले भने, “त्यसैले सबैले सङ्क्रमण लुकाउनुभन्दा सबैलाई जानकारी गराउनु राम्रो हुन्छ ।”

Logo