दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयद्वारा निर्देशन

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयद्वारा निर्देशन


गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको जनाएको छ। 

साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त घटनाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई त्यसको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको छ। घटनाको वास्तविक सत्यतथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ४४ नं गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ। 

घटनास्थल सदरमुकामबाट पाँच घण्टा पैदल दूरीमा रहेको हुँदा टोली फर्किएपछि यर्थात् जानकारी प्राप्त हुनेछ। सो घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकाले सत्यतथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना एवं समाचार प्रकाशित नगरिदिनुहुन मन्त्रालयले अनुरोध गरेको छ। 

दार्चुला घटनाको छानबिन गर्न वाइसिएलको माग

नेकपा(माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ। महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति वाइसिएलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पाले जारी गरेकाे विज्ञप्तिमा मृतक धामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तमा गहिरो समवेदना प्रकट गरेको छ। उक्त घटनाको छानबिन गरी कूटनीतिकस्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति तथा राहतका लागि वाइसिएलले सरकारसँग माग गरेको छ। 

Logo