माओवादी छाडेर एमाले गएका पूर्वमन्त्री ‘जबेगू’ को बाट असुरक्षित?

माओवादी छाडेर एमाले गएका पूर्वमन्त्री ‘जबेगू’ को बाट असुरक्षित?


एमाले गएका पूर्वमाओवादी नेता श्रीप्रसाद जबेगूले पार्टीमा सुरक्षा चुनौतीबारे जानकारी गराएका छन्।

माओवादी छाडेपछि केही स्थानीय माओवादी कार्यकर्ताले ज्यान मार्नेसम्मको छलफल गरेको सूचना आएको भन्दै उनले पार्टीमा सुरक्षा चुनौतीबारे जानकारी दिएको बताए।

तर, धम्की आए पनि नडराउने र गाउँ गएर एमालेको पार्टी संगठन बनाउन कसैले नछेक्ने बताए।

‘त्यहाँ अस्ति साथीहरूले म एमाले गएपछि त्यस्तो कुरा गरे छन्, मैले थाहा पाएँ, मलाई संगठन बनाउन गाउँमा कसैले छेक्नेवाला छैन, ड्याम्की ड्याम् संगठन बनाउँछु, म टेर्दिनँ’, उनले केन्द्रविन्दुलाई बताए।

जबेगूले गर्दा जनयुद्धमा होमिएको, गाउँलेहरू सहिद हुनुपरेको, कयौं घाइते, वेपत्तासँगै विस्थापितसम्म हुनु परेको तर धोका दिएर अन्ततः उनी भने एमाले गएको भन्दै आक्रोशित भएका कार्यकर्ताबाट त्यस्तो धम्की दिएको भन्ने सूचना पाएको सुरक्षा स्रोतले जनायो।

जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी धनञ्जय कुमार शाहले भने पूर्वमन्त्री जबेगू असुरक्षित भएको भए जिल्ला सुरक्षा समितिमा सुरक्षाका लागि निवेदन दिन सकिने बताए।

निवेदन परेको अवस्थामा समितिले त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराउने र सुरक्षा व्यवस्था गर्न मन्त्रालयबाट निर्देशन भए सोहीअनुसार गरिने बताए। 

जबेगू माओवादीबाट २०७० को संविधानसभा निर्वाचनबाट समानुपातिक सांसद हुँदै एकपटक स्थानीय विकास राज्यमन्त्री र एकपटक पशुपंक्षि विकासमन्त्री (मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी) भएका थिए।

यसरी दुई पटक राज्यमन्त्री भएका जबेगूलाई एमालेमा गएपछि आफ्नै गाउँ याङनामका केही माओवादी कार्यकर्ताले फोनमार्फत् धम्की दिने गरेको बताइन्छ। उनको गाउँ पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ८ हो।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको दस बर्से जनयुद्धमा उनको गाउँका मात्रै १२ जना सहिद भएका थिए। कयौं घाइते र बेपत्ता पनि छन्। जुन जनयुद्धमा पाँचथरको बढी क्षति भएकोमध्येको एक गाउँ हो।

स्थानीय तह निर्वाचनका बेला माओवादी नेताहरू जबेगूको गाउँलाई पूर्वको ‘थबाङ’ भन्ने गर्थे। पविन्द्र फागो नेतृत्वमा माओवादीले उक्त गाउँ समेटिएको वडामा ‘क्लीन स्वीप’ गरेको थियो।

Logo