लुम्बिनी प्रदेशसभा सांसद वली एमालेमै फर्किइन्, विपक्षीलाई बहुमत पुर्याउन सकस

लुम्बिनी प्रदेशसभा सांसद वली एमालेमै फर्किइन्, विपक्षीलाई बहुमत पुर्याउन सकस


लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमाले पार्टीमै फर्किएको बताएकी छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी हुन्। वली नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित हुन्।
गतसाल २३ फागुनमा एमाले र माओवादी ब्युँतिएपछि उनले माओवादी केन्द्र रोजेकी थिइन्। 

विज्ञप्तिमा उनले उल्लेख गरेकी छिन्, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’।

त्यस्तै ‘पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नु हुन सबैमा आग्रह गर्दछु।’ विज्ञप्तिमा उल्लेख छ।

त्यसो त दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन्। 

पार्टीमा वली फर्किएपछि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलमा नेकपा एमालेको संख्या ३९ पुगेको छ। वलीको पुनर्गमन पछि पनि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमाले अल्पमतमा छ। पार्टीको निर्णयमा जसपाका तीन सांसदलाई प्रदेश सांसद सचिवालयले पदबाट मुक्त गराएपछि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका हुन्।

वलीले एमाले रोजेपछि विपक्षी गठबन्धनमा  बहुमत गुमेको छ। उनीहरू सँग अब मात्रै ४० सांसद रहेको छ। ८० संसदीय प्रदेश सभामा बहुमत पुर्याउन ४२ सांसद आवश्यक छ।

जसपाका तीन सांसद कारवाहीमा परेसँगै प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन्। 

तथापि जसपाका तीन सांसदले कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका छन्। सर्वोच्चले रिट उपर आदेश नदिंदासम्म संसदमा विश्वास लिने अवस्था सिर्जना नहुने एमाले सांसद चेतनारायण आचार्यले जानकारी दिए।

‘हामीले अहिले पनि बहुमत गुमाएका छैनौं, हामी बहुमतमै छौं, सभामुखले आफूखुसी जसपाका तीन सांसदलाई सांविधान विपरित कारवाही गरे, हामीलाई विश्वास छ सर्वोच्चले उनीहरूलाई पुनर्वहाली गर्छ।’ सांसद आचार्यले भने।
 

Logo