पार्टी सभापतिमा लड्छु, देउवालाई समर्थक बनाउन इच्छुक छुः गोपालमान श्रेष्ठ

पार्टी सभापतिमा लड्छु, देउवालाई समर्थक बनाउन इच्छुक छुः गोपालमान श्रेष्ठ


कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा गरेका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले शेरबहादुर देउवाले सरकार मात्रै चलाउनुपर्ने बताएका छन्। 

सरकार मात्रै चलाएको अवस्थामा सरकारको कामकारबाही प्रभावकारी हुने उनले बताए। पार्टी भने आफूले चलाउने उनको भनाइ छ।

एक व्यक्ति एक पद प्रभावकारी हुने तर्क अघि सार्दै उनले फेरि प्रधानमन्त्रीसमेत रहेका देउवाले सभापति पदमा उम्मेदवारसम्म दिन नहुने बताए।

एमाले अध्यक्ष केपी ओली पार्टी र सरकार दुबैको नेतृत्वमा रहँदा दुबैतर्फ असफल भएको भन्दै उनले पार्टी नेतृत्वको पनि लोभ देउवामा भए त्यस्तै हुने श्रेष्ठले केन्द्रविन्द्रलाई बताए।

‘पार्टीमा पनि आफैं र सरकारमा पनि आफैं हुँदा एमाले अध्यक्ष केपी ओली अन्ततः सडकमा आउनुपर्यो’, उपप्रधान तथा शिक्षामन्त्रीसमेत रहिसकेका श्रेष्ठले भने, ‘सभापति देउवाले पनि त्यस्तो हुनबाट जोगिन सरकारको काममा मात्रै केन्द्रित हुनुपर्छ र उहाँले पार्टी चलाउने भनेर सभापति पदमा उम्मेदवारी दिनु हुँदैन।’

कांग्रेसमा श्रेष्ठलाई संस्थापन अर्थात् देउवा पक्षको दोस्रो नेताको रूपमा चिनिन्छ। उनले देउवालाई पोखरामा भएको १० औं महाधिवेशनदेखि १३ औं महाधिवेशन पनि सहयोग गरेका थिए। त्यही भएर अब देउवाले सहयोग गर्नुपर्ने र प्रस्तावक देउवालाई नै बनाउने उनको मनसुवा छ ।

‘मैले उहाँलाई पटकपटक सहयोग गरें, अब मलाई सहयोग गर्नुपर्छ उहाँले । मलाई आशा छ, उहाँ प्रस्तावक बनेर मेरो मनोनयन दर्तामा सघाउनु हुनेछ,’ श्रेष्ठले भने।

कांग्रेसमा सभापति पदका नौं जना आकाङ्क्षी छन्। तर, श्रेष्ठले यही महाधिवेशन मात्रै उमेरले भ्याउने भन्दै पहिलो र अन्तिमपटक सभापति हुन चाहेको बताए।

दोस्रो तहबाट सभापति पदमा आकांक्षी बनेका नेताहरूलाई १५ औं महाधिवेशनमा उम्मेदवार बन्न सुझाएको पनि उनले खुलाए।
‘मेरो त उमेरले १५ औं महाधिवेशन भ्याउँदैन । भ्याउने यही हो, त्यही भएर मेरो सभापति पदमा पहिलो र अन्तिम उम्मेदवारी हुँदैछ, सहयोग गर्नुहोस् भनेर सबैलाई भनेको छु।’

उनले आइतबार सभापति पदका आकांक्षीमध्येका एक जना नेता प्रकाशमान सिंहसँग भेट गरेका थिए।

सिंहसँगै रहेका अन्य दुई जना सभापति पदका आकांक्षीहरू विमलेन्द्र निधि र डा. शशांक कोइरालालाई सहयोग गर्नका लागि आग्रह गरिएको बताए। तीनै जना नेताहरूसँग मिलेर अघि बढ्न चाहेको उनको भनाइ छ।

‘म तीनै जना नेताहरूसँग मिलेर अघि बढ्न चाहन्छु, अन्य नेताहरूसँग पनि सम्वाद हुँदैछ’, श्रेष्ठले बताए। कांग्रेसलाई आगामी निर्वाचनमा ठूलो पार्टी बनाउन, अनुशासनयुक्त पार्टी बनाउनेदेखि जनताको पक्षमा काम गर्ने जनप्रिय पार्टी बनाउन सभापति हुन चाहेको श्रेष्ठले बताए।

Logo