ओली र नेपालबीचकाे संवादविहीनता ताेडिँदै, आज ‘वान टु वान’ वार्ता हुने

ओली र नेपालबीचकाे संवादविहीनता ताेडिँदै, आज ‘वान टु वान’ वार्ता हुने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘वान टु वान’ भेटवार्ता हुने तय भएकाे छ। तर समय र स्थान भने तय भइसकेकाे छैन। आज भेटवार्ता भएमा दुई नेताबीच २७ दिनपछि संवादहीनता तोडिनेछ। 

मंगलबार दुई शीर्ष नेताबीच भेट हुने तय भएको एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले केन्द्रबिन्दुलाई जानकारी दिए। ‘उहाँहरू वान टु वान संवाद गर्दै हुनुहुन्छ स्थान र समय तय भएको छैन।’ नेम्बाङले भने।

साेमबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले दुई नेताबीच संवादको वातावरण बनाउने निष्कर्ष निकालेको थियो। ओली निकट स्रोतका अनुसार पार्टी अध्यक्ष ओली यसअघिनै वार्ता गर्न तयार भएको तर, माधव नेपालका कारण वार्ताको माहोल नबनेको बताइएको छ।

आजको शीर्ष नेताको ‘वान टु वान’ वार्ताले आन्तरिक विवाद समाधान उन्मुख हुने पनि स्रोतले जनाएकाे छ। पार्टीको विवाद समाधान गरेर एकताबद्ध बनाउनको लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयासरत छन्। 

विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर 'वान टु वान' छलफल गराउने दोस्रो तहका नेताहरूले प्रयास गरेपनि सफल हुन सकिरहेकाे थिएन। 

पार्टी विवाद समाधान गरेर एकतावद्ध हुन एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरूको तीब्र दवाव छ भने केही एमालेकै नेताहरूकाे भने 'वान टु वान' वार्ता भए पनि कुनै प्रगति नहुने आँकलन छ। 

Logo