१० असोज २०७८ आइतबार

ओलीको भ्याकेटले एमालेलाई क्षतिः कर्णालीमा गुम्यो आफ्नै बहुमत, मुख्यमन्त्री शाही सुरक्षित

नेकपा एमाले एकता र विभाजनको प्रयास जारी रहेका बेला कर्णाली प्रदेशका चारजना सांसद पद मुक्त भए।

संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरिदियो। चार सांसद गुमाएको एमालेले आफ्नो एकल बहुमत गुमाएको छ।

यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो। 

सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली अदालत गएका थिए। ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र प्रकाश ढुंगानाको इजलासले राउतको अन्तरिम आदेश सोमबार खारेज गरिदिएसँगै ओलीले चार सांसदमाथि गरेको कारवाहीलाई वैधानिक ठहर भएको छ।

पदमुक्त भएका चार सांसदमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना कर्णाली सरकारमा मन्त्री थिए।

कर्णाली प्रदेश सरकारले चाहे संविधान अनुसार उनीहरू अब ६ महिना मन्त्री बन्न पाउँछन् ।  त्यसबीच उनीहरू उपनिर्वाचनमा विजय भएर पुनः सांसद नभए उनीहरूको मन्त्री पद जानेछ।

अध्यक्ष ओलीले आफ्ना चार सांसदलाई गरेको कारबाही सदर भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित भएको छ । ३ वैशाखमा शाही नेतृत्वको सरकार जोगाउन उनीहरूले फ्लोरक्रस गरेका थिए।

उनीहरू विरुद्ध एमाले दशौं महाधिवेशन आयोजक कमिटी भ्याकेटमा गएको थियो। तर, सर्वोच्चलेनै एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलेलाई अवैधानिक ठहर गरिदिएपछि एमाले पुनः नवौं महाधिवेशनले निर्दिष्ट गरेको बाटोमा फर्किएको छ।

सर्वोच्चको उक्त व्याख्याले दशौं महाधिवेशन आयोजक कमिटी पनि वैधानिक ठहर गरिदिएको छ। तर, एमालेले दशौं महाधिवेशन आयोजक कमिटीलाई खारेज गरिसकेको छ।

सर्वोच्चको फैसलाले एमालेमै समस्या उत्पन्न भएको छ। अब फेरि दशौं महाधिवेशन आयोजक कमिटी ब्युँत्याउने वा जेठ २ अघिको संरचनामा रहने एमालेले केही निर्णय लिएको छैन।

सर्वोच्चको उक्त आदेशसँगै कर्णाली प्रदेशसभाको समीकरण फेरिन पुगी प्रदेशसभा ३४ सदस्यीय भएको छ। यो सँगै सरकारको खड्गो टरेको छ।

प्रदेशसभामा बहुमतका लागि १८ सांसद चाहिन्छ, जुन मुख्यमन्त्री शाहीसँग छ। उनीसम्वद्ध माओवादी केन्द्रका १२ र सत्ता साझेदार नेपाली कांग्रेसका ६ सांसद छन्।

अब एमालेसँग १६ सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन्। चौंथो दल राप्रपासँग एक सांसद छन्। राप्रपाको एक सांसदले एमालेलाई सहयोग गरेपनि अविश्वासको प्रस्ताव राख्न संख्या पुग्दैन।

प्रकाशित: १९ साउन २०७८ ०९:५९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी