दार्चुला घटना व्यक्तिगत होइन, सिंगो मुलुकसँग जोडिएको घटना होः कांग्रेस नेता गुरुङ

दार्चुला घटना व्यक्तिगत होइन, सिंगो मुलुकसँग जोडिएको घटना होः कांग्रेस नेता गुरुङ


नेपाली कांग्रेस युवानेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले दार्चुला तुइन घटना व्यक्तिगत नभई सिंगो मुलुकसँग जोडिएको घटना भएकाे बताएका छन्। यसलाई व्यक्तिगत बनाउँदा सिङ्गो मुलुक अन्यायमा पर्ने उनको भनाइ छ ।

नेता गुरुङले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले न्याय नपाउनु भएको पनि बताए। 

उनले २०१६ सालमा हवलदार मारिएको मुस्ताङ घटनामा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले चिनियाँ सरकारसँग सिधा कुरा गरेपछि चीनले माफी मागेको घटना सरकारलाई स्मरण पनि गराएका छन्।

गत साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको बताइएको छ। 

यसको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति पनि बनाएको छ। टोलीले अहिले स्थलगत अवलोकन गर्नुका साथै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ। 

नेता गुरुङले यसलाई गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्,:

जयसिंह धामी घट्नालाई व्यक्तिगत रुपमा नलिऔं। यो त सिंगो मुलुकसँग जोडिएको घट्ना हो। जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय व्यहोर्नु हो।

२०१६ सालमा हवलदार मारिएको मुस्ताङ घट्नामा तत्कालीन प्रम विपीले चिनियाँ सरकारसँग सिधा कुरा गरेपछि चीनले माफी मागेको थियो। सम्झाएँ है।

Logo