कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशन केन्द्रित छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशन केन्द्रित छलफल हुने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हाे। बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुनेछ। 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुने बताए।
 
१६ भदाैदेखि हुने भनिएकाे महाधिवेशन नहुने निश्चित भएकाे अवस्थाबीच बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले २३ भदाै अगाडि जुनसुकै हालतमा महाधिवेशन हुनुपर्ने  अडान राख्ने भएकाे छ।

साेमबार र मंगलबार काठमाडौंकाे ठमेलमा बसेकाे पाैडेलपक्षीय जिल्ला सभापतिहरूको बैठकले भए महाधिवेशन नभए विशेष महाधिवेशनमा जाेड दिएकाे थियाे।

२३ भदौभित्र महाधिवेशन नभएको अवस्थामा कांग्रेसले वैधानिकता गुमाउने चर्चा छ। तर, डेमोक्रेटिक लयर्स एशाेसिएसनमा आबद्ध कानुनविद्हरूले गएकोमा फागुनदेखि नै वैधानिकता कांग्रेसको गुमेकाे बताउने गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने कार्यतालिका संशोधन गरेर महाधिवेशनलाई अझ पर धकेल्ने पक्षमा छ।

महाधिवेशन निर्धारित समयमा हुन नसक्ने स्थिति आएकाे काेभिड महामारी र बर्खाले गर्दा भनेर उम्कने रणनीति पनि छ। ५० हजार रूपैयाँ जरिवाना तिरेर महाधिवेशन शून्य समयमा गर्ने भन्दै आएकाे छ।

यसाे भनिए पनि महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यता टुंगिएको छैन। महिनाैंदेखि विवादमा छ।

सिन्धुपाल्चोक, रसुवा, धनुषाको निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ सँगै बारा र सप्तरी लगायत जिल्लामा विवाद देखिएकाे हाे।

समझदारी गरेर यी स्थानहरूबाट महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि कसरी सहभागी गराउने भन्ने टुंगाे लागेकाे छैन। टुंग्याउने जिम्मेवारी पदाधिकारी बैठकबाट पार्टीको शीर्ष नेतृत्वले पाएकाे थियाे। तर, टुंग्याएकाे छैन।

समायाेजनकाे नाममा पार्टी कब्जा गर्ने नियतले देउवाले फाेरम लाेकतान्त्रिकबाट आएका उपसभापति विजयकुमार गच्छदार पक्षलाई २५ हजार, राप्रपाबाट आएका सुनीलबहादुर थापा पक्षलाई १० हजारसँगै माओवादी र एमालेलगायत दलबाट आएकालाई क्रियाशील सदस्यता अधिक दिएकाे भन्ने गुनासो छ।

Skip This
Logo