माधव नेपालले नयाँ पार्टी खोले क-कसले साथ देलान्?

माधव नेपालले नयाँ पार्टी खोले क-कसले साथ देलान्?


नेकपा एमालेको माधव नेपाल समूह पार्टीमा एकता कायम गर्ने वा नयाँ पार्टी गठन गरेर अध्यक्ष केपी शर्मा ओलीबाट टाढा हुने दोसाँधमा छ। तथापि, माधव पक्षका तेस्रो तहका नेताहरू भने पार्टीबाट अलग हुन हरसम्भव कोसिस गरिरहेका छन्।

पार्टीले कारबाही गरेर सांसद पद गए पनि उनीहरू ६ महिनाका लागि मात्र भए पनि मन्त्री हुन लालयित देखिएका छन्। 

उनीहरू ह्वीप उल्लंघन गरेर भन्दा पनि पार्टीबाट अलग भएर मन्त्री बने सांसद पद पनि जोगिने पूर्णकाल मन्त्री रहन पाइने हुँदा पार्टी नै फुटाउन प्रयासरत देखिन्छन्। यता, वरिष्ठ नेता माधव नेपालले एमाले बागमती सम्पर्क संगठन कमिटीको सपथ ग्रहण कार्यक्रममा गरेको सम्बोधनले पनि नेपाल दोसाँधमा रहेको प्रष्ट हुन्छ।

पार्टीभित्र एकता गर्ने वा नयाँ पार्टी गठन गरेर अलग हुने भन्ने दुईथरी फरक मत जोडदार रूपमा उठिरहेकाले माधव नेपाललाई असहज भएको छ। माधव नेपाललाई त्यो संकट भने पार्टीका दोस्रो तहका नेताहरूका कारण भएको जानकार बताउँछन्। 

उनको पनि मनस्थिति ओलीसँग मिल्नु नरहेको स्रोतले दाबी गरेको छ। तर, दोस्रो तहका नेताहरूले भने उनलाई अहिलेसम्म ‘व्याक’ सारिरहेका छन्।

तेस्रो तहका नेताहरूले ३ साउनमा देउवालाई विश्वासको मत दिएका थिए। उनीहरूको संख्या धेरै रहे पनि प्रभावका हिसावमा तटस्थ रहेका १० जना नेताहरू भने माधव समूहका प्रभावशाली नेताहरू हुन्। १० जना नेताहरू पार्टी फुटाउनुहुन्न भन्ने पक्षमा रहेकाले नेपाल अहिलेसम्म पार्टी फुटाउने वा पार्टी एकता गर्ने निर्णयमा पुग्न नसकेका हुन्।

नेपाल समूहका विघटित पार्टी एकता कार्यदलका सदस्यसहित कार्यदलमा नरहेका अन्य नेताहरूले पनि तत्काल पार्टी फुटाउने कुरा नगर्न बरु ओलीसँग समझदारी गरेर पार्टीमा  मिल्नुपर्ने प्रस्ताव नेपाललाई सुझाएकाले नेपालसँग बहुमत संसद फुट्नुपर्ने पक्षमा रहँदा पनि उनी अगाडि बढ्न नसकेका हुन्।

त्यति मात्र होइन, सत्तारुढ गठबन्धन भने माधव नेपालले ओलीसँग अलग हुने छनक दिए दल विभाजन खुकुलो हुने गरी अध्यादेश नै ल्याइदिन तयारी अवस्थामा बसिरहेका छन्।

अहिले माधव नेपाल समूहमा यही कुराले आन्तरिक द्वन्द्वको अवस्था निम्त्याउने खतरा बढेको छ। तेस्रो तहका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्ने सोचमा छैनन्।

उनीहरू ओलीसँग मिल्न नसक्नुमा पार्टीमा अध्यक्ष ओली हाबी हुनु, कथंकदाचित पार्टी मिलिहाल्यो भने अवसर नपाउने डर, ओलीलाई पार्टी अध्यक्ष मानेर जाँदा भएको हीनताबोधलगायत परिस्थिति कारक छन्। यसका साथै चुनावमा टिकट पाउने अवस्था नआउनेलगायत कारणले नेपाल समूहका बहुसंख्यक नेता मिल्नेभन्दा फुट्दा राम्रो हुने निष्कर्ष निकालिरहेका छन्। 

पछिल्लो एक महिनादेखि एमालेका दुवै पक्षको गतिविधि नियाल्दा थाहा हुन्छ–पार्टी एक गर्नेभन्दा अलग हुन नेताहरू कम्मर कसेर लागेका छन्।

त्यति मात्र होइन, सत्तारुढ गठबन्धन भने माधव नेपालले ओलीसँग अलग हुने छनक दिए दल विभाजन खुकुलो हुने गरी अध्यादेश नै ल्याइदिन तयारी अवस्थामा बसिरहेका छन्।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका एक पूर्वमन्त्रीले दिएको जानकारी अनुसार नेपालले गठबन्धनलाई दल विभाजन गर्छु मात्रै भने तत्काल अध्यादेश ल्याउन गठबन्धन तयार रहेको छ।

ओली पक्षका नेता एवं प्रतिनिधिसभाका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने माधव नेपालले चाहेर पनि पार्टी फूटाउन नसक्ने प्रतिक्रिया दिए।

‘झलनाथ खनाल, भीम आचार्यदेखि सारा नेता अलमलमा हुनुहुन्छ, कहाँबाट फुटाउन सक्नुहुन्छ माधव नेपालले,’ उनले भने।

देउवा सरकारले कथंकदाचित दल विभाजन अध्यादेश ल्यायो भने माधव समूहमा संख्या नपुग्ने भट्टराईले जानकारी दिए।

‘सरकारले दल विभाजन अध्यादेश अहिले माधव नेपालसँग रहेका भनिएका सांसदलाई हेरेर ल्यायो भने पनि माधव नेपालसँग संख्या पुग्दैन, अध्यादेश आए पनि नआए पनि अबको केही दिनपछि उहाँसँगै रहेकाहरू मूल पार्टीमा फर्कनुहुन्छ,’ उनले भने।

Logo