माउ पार्टी रोजेँ, मैले के बिराएँः रेशम चौधरी

माउ पार्टी रोजेँ, मैले के बिराएँः रेशम चौधरी


‘माननीय रेशम चौधरीलाई रिहाइ गर,’ ‘झुठ्ठा मुद्दा खारेज गर’ लगायतका नारा अहिले माइतीघर मण्डलामा भइरहेको थरुहट थारुवान मोर्चाको धर्ना कार्यक्रममा लागिरहेको छ भन्ने मैले समाचारबाट थाहा पाएको छु। मैले थाहा पाएअनुसार धर्नामा सहभागिता थोरै छ। तर, कैलाली–१, टीकापुर क्षेत्रबाट ३४ हजारभन्दा बढी भोट दिएर त्यहाँका मतदाताले मलाई जिताएका छन्। ती सबै मतदाताको साथ–समर्थन अझै मसँग छ।

म तत्कालीन राजपाबाट छाता चुनाव चिन्ह लिएर संघीय सांसदमा जितेको नेता हुँ। तत्कालीन राजपाका अध्यक्ष राजेन्द्र महतो अनि महन्थ ठाकुरको एउटा गठबन्धनपछि मैले पनि त्यही समूह रोज्ने निर्णय गरेको हुँ। माउ पार्टी रोजेँ त मैले के बिराएँ। 

निर्वाचन आयोगमा महन्थ अनि यादव समूहले पार्टी आधिकारिकताका लागि समूह छुट्याउँदा म तटस्थ बसेकै हो। तर, समयक्रमले सधैँ तटस्थ बस्ने अवस्था रहेन। एक न एक पक्षमा नलाग्दा मेरो सांसद पद गुम्थ्यो। जनताले आड भरोसासहित साथ दिएको सांसद पद खेर जान दिनु भएन। त्यसैले सांसद पद जोगाउन पनि मैले आफ्नै माउ पार्टी रोजेँ। 

म अहिले डिल्लीबजार कारागारमा छु। यहाँ उपेन्द्र यादव कहिल्यै भेट्न आएनन्। टेलिफोन वार्तामा मलाई दुलही बनाएर अन्माउनुहोस्, तपार्इंकै समूहमा आउँला भनेको हुँ। तर, उनले मलाई कान्छी श्रीमतीको दर्जामा पनि नराखेर केवल चाकडी गराउने सुसारेको भूमिका दिन खोजे। गुलामी गर्न मेरो मनले मानेन। 

मैले उपेन्द्रलाई देउवा सरकारमा नजान आग्रह गरेको हुँ। तर, उनले अस्वीकार गरे। ओली सरकारमा महन्थ ठाकुर समूह जानु र देउवा सरकारमा उपेन्द्र यादव समूह जानुमा मैले कुनै भिन्नता देखेको छैन। मेरो रिहाइमा, टीकापुर घटनाको पीडितहरुको आवाज जति राजेन्द्रले उठाएका छन्, त्यति उपेन्द्रको आवाज छैन। त्यसैले मेरो मनले माउ पार्टी नै रोज भन्यो।

मैले सुनेको छु। पहिले राजपाबाटै चुनाव लडेका मेरै क्षेत्रका सुदूरपश्चिम प्रदेश सांसद कृष्णबहादुर चौधरी, अनि अर्की प्रदेश सांसद मालमति राना थारु उपेन्द्र समूहमा गए अरे। तर, मलाई विश्वास छैन, उनीहरू राजेन्द्रलाई छाडेर जान सक्छन्। कम्तिमा मसँग एक वचन सल्लाह गर्नेछन् भन्नेमा म आशावादी छु।

सांसद पद रहे पनि नरहे पनि मैले सधैँ थारु समुदायका निमुखा वर्गको आवाज उठाउँदै आएको छु। म कलाकार मान्छे, मैले आफ्ना गीत संगीत अनि फिल्ममा पनि कमैया कमलहरीहरूको आवाज उठाएको छु। २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा हुनुअगावैदेखि म यो अभियानमा छु।

माइतीघर मण्डलाको धर्ना कार्यक्रममा पातलो उपस्थिति हुनाका कारण मुख्य दलमा आबद्ध भएपछि आफूले उठाउँदै आएको माग मुद्दा थारु नेताहरुले भुल्दै गएको तीतो यथार्थ हो। अहिले डा. गोपाल दहित, योगेन्द्र चौधरीहरू नेपाली काँग्रेसमा आबद्ध भएपछि थरुहट आन्दोलनको ‘थ’ पनि उच्चारण गरिरहेका छैनन्। 

सबैलाई सर्वविदितै छ। २०७२ साल भदौ ७ मा टीकापुरमा भएको आन्दोलन थारुहरूले संविधानमा, राज्य पुर्नसंरचनाको सिमाङ्कनको सवालमा, समग्र शासन प्रशासनमा असन्तुष्टि जनाउनलाई थियो। तर, त्यसमा घुसपैठ गरेर अन्यले खेल्ने मौका पाए जबकि घटनाका बेला म त्यहाँ छँदै थिइनँ। म निर्दोष छु।

आफ्नो लक्ष्य उद्देश्यमा स्पष्ट भए एकदिन अवश्य सत्यको जित हुन्छ। जति दिन मलाई भारतलगायत प्रवासमा दुःख बिताउन लेखेको थियो, बिताएँ। आत्मसमर्पण पनि आफ्नै खुशीले गरेको हु। अहिले कारागारमा छु, एकदिन म जरुर छुटुलाँ र टीकापुर घटनामा धमिलो पानीमा माछा मार्नेहरूको अवश्य पर्दाफास गरूँला। 

(डिल्लीबजार कारागारमा रहेका जसपा (समाजवादी)का सांसद रेशम चौधरीसँग केन्द्रबिन्दुकर्मी कृष्णराज सर्वहारीले गरेको कुराकानीमा आधारित)

Logo