कांग्रेसकाे १४ औं महाधिवेशनः सभापतिमा वृद्ध नेता अघि, युवा नेता पछि

कांग्रेसकाे १४ औं महाधिवेशनः सभापतिमा वृद्ध नेता अघि, युवा नेता पछि


मुलुकको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भन्दै नेताहरूले उम्मेदवारी घोषणा पनि गरिसकेका छन्। उम्मेदवार हुन उनीहरूको भरमग्दुर प्रयास छ। टुंगिन भने बाँकी छ। 

उम्मेदवार घोषणा गर्ने नेताहरू सभापतिसमेत रहेका शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, अर्जुननरसिंह केसी र कल्याणकुमार गुरुङ हुन्।

उम्मेदवारी घोषणा गरेका यी नेताहरूमध्ये युवा नेता गुरुङ मात्रै छन्। उनी पनि ५२ वर्षीय हुन्। 

जबकि, नेपाली कांग्रेसको इतिहासमा मातृकाप्रसाद कोइराला ३८ वर्षमै सभापति भएका थिए। उनी कांग्रेसको पहिलो निर्वाचित सभापति पनि हुन्। यसरी युवा उमेरमै उनले पार्टीको सर्वोच्च पद सभापति भएर नेतृत्व गरे।

विसं. १९६८ पुस १७ मा जन्मिएका उनी २००६ चैत ३० गते सभापति निर्वाचित भएका थिए।

उनका भाइ विश्वेश्वरप्रसाद कोइराला पनि ३८ वर्षकै उमेरमा कांग्रेस सभापति भए। युवा उमेरमै राष्ट्रियता, प्रजातन्त्रसँगै समाजवादमा आस्था राख्नेहरूको नेता बने। पार्टी संगठनको नेतृत्व गरे।

राणाविरोधी आन्दोलनको बेला स्थापित कांग्रेसको पहिलो र दोस्रो महाधिवेशनबाट यसरी युवा नेतृत्व पार्टीमा आउँदा पार्टीको १४ औं महाधिवेशनमा आइपुग्दा भने गुरुङबाहेक अन्य युवा नेताहरूले उम्मेदवारी घोषणा गर्नेसम्मको आँट गरेनन्।

यसो हुनुको पछि कांग्रेसमा प्रभावशाली युवा नेताहरू नभएर पटक्कै होइन। धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा. चन्द्र भण्डारी, डा.मिनेन्द्र रिजाल, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव आदि छन्।

बारम्बार पार्टीमा ठाउँ पाइएन भन्ने उनीहरूको गुनासो नभएको पनि होइन। हस्तक्षेप गरेर पार्टीलाई युवाले हाँक्नुपर्ने उनीहरूले नभनेका पनि होइनन्। तर, निर्वाचनमार्फत पार्टी नेतृत्वमा पुग्न त के नेतृत्वका लागि चाहनासम्म सार्वजनिकरूपमा राखेका छैनन्। जो रहस्यमयी छ।

नेपाली कांग्रेसको विधान-२०१७ (नवौं संशोधित) मा सभापतिलाई १५ प्रकारका अधिकार छन्।

पार्टी नेतृत्व गर्नेदेखि योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्नेसम्मको अधिकार सभापतिलाई छ।

बारम्बार पार्टीमा ठाउँ पाइएन भन्ने उनीहरूको गुनासो नभएको पनि होइन। हस्तक्षेप गरेर पार्टीलाई युवाले हाँक्नुपर्ने उनीहरूले नभनेका पनि होइनन्। तर, निर्वाचनमार्फत पार्टी नेतृत्वमा पुग्न त के नेतृत्वका लागि चाहनासम्म सार्वजनिकरूपमा राखेका छैनन्। जो रहस्यमयी छ।

पार्टीको आदर्श, सिद्धान्त, मर्यादालाई उच्च राख्ने, राख्न लगाउने तथा पार्टीलाई सबल, सक्षम संगठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने अधिकार पनि सभापतिलाई विधानमा छ।

जुन पदमा केन्द्रीय महाधिवेशन प्रतिनिधिले गरेको मतदानको आधारमा निर्वाचित हुने हो।

‘युवा नेताहरू पिछलग्गु’
नेता गगनकुमार थापाले २०७७ फागुन ७-१० मा १४ औं महाधिवेशनको दोस्रो मिति हेरफेर हुँदा सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। उनी पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलापक्षीय नेता हुन्। महाधिवेशनको मिति हेरफेर भएर आगामी मंसिरमा महाधिवेशन पुग्दा भने उनी चुपचाप छन्।

सभापति पदमा लड्ने मनशाय व्यक्त गरेका छैनन्। स्रोतका अनुसार उनी महामन्त्री पदमा लड्न चाहन्छन्। 

पार्टी प्रवक्तासमेत रहेका अर्का प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा पनि कुन पदमा उम्मेदवारी दिने? खुलेर बोलेका छैनन्। तैपनि, महामन्त्रीमा उनको चाहना रहेको बताइन्छ। सभापति शेरबहादुर देउवा निकट उनले सभापति पदका लागि भने मन गरेका छैनन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय युवा नेताहरू धनराज गुरुङ, डा. चन्द्र भण्डारी, डा.मिनेन्द्र रिजाल, जीवन परियार, प्रदीप पौडेल, बद्री पाण्डे, गुरुराज घिमिरे र रामकृष्ण यादव पनि सभापति पदमा निर्वाचन लड्ने पक्षमा छैनन्। नेता रिजालले भने महामन्त्री पदमा चुनाव लड्ने यसअघि नै घोषणा गरिसकेका छन्।

अन्य नेताहरूले पदाधिकारीमा पनि कुन कुन पदमा चुनाव लड्ने भन्ने खुलाएका छैनन्।

यद्यपि, उनीहरूले २०७४ मा भएको प्रदेश र संघीय संसद्को निर्वाचनमा पार्टीले वाम गठबन्धनसँग नराम्ररी हार बेहोरेपछि सभापति पदबाट देउवाको राजीनामा मागेका थिए। र, पार्टी नेतृत्वमा युवा पुग्नुपर्नेमा जोड दिएका थिए। यसो भने पनि उनीहरू महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न उम्मेदवारसमेत दिन तयार छैनन्।

उनीहरूको ध्यान कसरी अग्रज नेताको पछि लागेर पार्टीमा सुरक्षित हुन सकिन्छ? त्यसतर्फ देखिन्छ।

फेरि, यसअघिका महाधिवेशनहरूमा केही युवा नेताहरू सभापति पदमा उम्मेदवार दिने भन्दै अन्त्यमा त्यसभन्दा तल्ला पदमा रहेर चित्त बुझाउने गरेको दृष्टान्त कांग्रेसमा छ। जो सौदावाजीका लागि देखिएको थियो।

सभापतिमा वृद्ध नेताकै सम्भावना
वर्तमान सभापति देउवा उमेरले ७५ वर्ष नाघे। वरिष्ठ नेता पौडेल त ७७ वर्ष पुगिसके। गोपालमान श्रेष्ठ पनि सोही उमेर समूहका हुन्।

शेखर कोइराला ७१ वर्ष, विमलेन्द्र निधि र प्रकाशमान सिंह समान ६५ वर्षका र शशांक ६३ वर्षका हुन्।

रामशरण महत र अर्जुननरसिंह केसी पनि ७० आसपासका हुन्। यसरी सभापति पदका अधिकांश उम्मेदवार घोषणा गरेकाहरू ६३ देखि ७७ वर्ष उमेर समूहका छन्।

यस्तो अवस्थामा सभापति हुने भनेको फेरि वृद्ध नेता नै हो।

Logo