‘मैले पढाएका विद्यार्थी कोही कोही फेल भएकोमा दु:खी छु’: केपी ओली

‘मैले पढाएका विद्यार्थी कोही कोही फेल भएकोमा दु:खी छु’: केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटबाट जोगाएर एकता गर्न  नसकेकोमा दुःखी रहेको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूले पार्टी फुटबाट जोगाउन अनेकौँ कोसिस गर्दा गर्दै पनि पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन्।

उनले आफूले पढाएका सबै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल भएको र फेल हुनु पनि स्वभाविक भएको बताउँदै भने, ‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहन्छु तर कोही कोही फेल भए।’

यस्तै ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन्। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए। 

तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उनकाे भनाइ छ। ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे। 

अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो। अहिलेकाे अवस्था हेर्दा एमालेमा ओलीकाे विकल्प भने देखिन्न।

पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे।

सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद्

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन्। पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन्। 

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे। 

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन्।’ 

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ। 

एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो। सभामुख सापकाेटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ।

Logo