मंगलादेवीको २६ औं स्मृति दिवस आजः महिला हकहितकाे आन्दाेलनमा अतुलनिय याेगदान

मंगलादेवीको २६ औं स्मृति दिवस आजः महिला हकहितकाे आन्दाेलनमा अतुलनिय याेगदान


नेपाल महिला संघकी संस्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २६ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरियाे। महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुविरुद्ध आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको समयमा स्वर्गिय सिंहको योगदान अविष्मरणिय छ।

नेपाल महिला संघले आफ्नो संस्थापक नेताको स्मृतिमा देशभर आज विभिन्न कायक्रम आयोजना गरेको छ। मंगलादेवी सिंह कांग्रेसका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिंहकी श्रीमती हुन् । काँग्रेस नेता प्रकाशमान सिंह गणेशमान र मंगलादेवीका छोरा हुन्।

को हुन् मंगलादेवी सिंह ?

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको थियो। वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.सं. १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन्।

वि.सं. २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उनी आजन्म अध्यक्ष रहेकी थिइन्। २००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै सिंह महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन्। वि.सं.२००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गरिन्।

सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहेकी सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भएकी थिइन्।

२०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन्। उनीद्वारा लिखित ‘नारी संघर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तक एउटा जिवन्त इतिहास हो। २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको निधन वि.सं.२०५३ साल भदौ १० गते भएको थियो। नेपाली राजनीतिमा उनकाे याेगदान अतुलनिय छ।

Logo