भीम आचार्य नेतृत्वको प्रदेश एक सरकारको आयु एक महिना !

भीम आचार्य नेतृत्वको प्रदेश एक सरकारको आयु एक महिना !


प्रदेश एक सरकारको नयाँ मुख्यमन्त्रीका रुपमा प्रदेशसभाका सांसद भीम आचार्य नियुक्त भएका छन्। बिहीबार संसदीय दलका नेता तथा मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएपछि आचार्यको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

त्यसो त आचार्य २०७४ साल माघ २६ गते शुक्रबार भएको एमाले संसदीय दलको नेता चुन्न गरिएको निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य राईसँग २ मतले पराजित भएका थिए।

आचार्यलाई पराजित गर्दै राई प्रदेश १ को संसदीय दलको नेता बने।

संसदीय दलको नेता बनेसँगै राईलाई प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। राई नेपालनिकट मानिएका जीवन घिमिरेको मद्दतले दलको नेता चयन भएका थिए। घिमिरेको उक्त सहयोगलाई मध्यनजर गर्दै राईले शक्तिशाली मन्त्री पनि दिएका थिए। तर, पुस ५ पछि भने घिमिरे माधव प्यानलमा छन्। माधव नेपालले नयाँ पार्टी गठन गरेपछि उनी अहिले तानातानमा छन्, आफू कता लाग्ने निर्णय दिएका छैनन्। प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको हकमा दल छनोट गर्न १५ दिन समय दिइएको छ।

यसरी मुख्यमन्त्री जितेका राई अन्ततोगत्वा बिहीबारदेखि मुख्यमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका छन्। प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाए पनि उक्त पदको आयु भने एक महिना मात्र रहने देखिएको छ। प्रदेश १ का सांसद उपेन्द्र घिमिरेले आचार्य एमालेमा रहे एक महिनापछि उनी सत्ताच्युत हुने दाबी गरे।

मुख्यमन्त्री आचार्य एमाले पूर्व वरिष्ठ नेता झलनाथ खनाल पक्षमा रहेका थिए। तर, खनाल र नेपाल एमालेबाट अलग भएर नयाँ गठन गर्न अग्रसर भएपछि उनी खनालको साथ छाडेर ओली क्याम्पमा लागेका थिए।

मध्यमार्गी धारमा रहेर पार्टी एकता गर्ने भनेर खनाल–नेपाल पक्षका नेताहरू दशबुँदे एकता प्रस्ताव अक्षरशः कार्यान्वयन गर्नुपर्ने शर्तमा उनीहरू ८ भदौमा एमालेमा फर्किए।

एमाले फुटको असर केन्द्रमा मात्र होइन, प्रदेश हुँदै स्थानीय तहमा पनि प्रत्यक्ष रूपमा परेको छ। प्रदेश १ मा पनि पार्टी अलग नहुँदासम्म १५ सांसद आफ्नो पक्षमा रहेको दाबी नेपाल पक्षले गर्दै आएको थियो। 

यो तथ्यांकका आधारमा यदि मुख्यमन्त्री आचार्यले ओली क्याम्प नछाड्ने निधो गरे उनले एक महिनाभित्र विश्वासको मत लिन सांसद संख्या पुर्याउन नसक्ने देखिएको छ। एक महिनाभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने अवस्थामा आचार्यले विश्वासको मत लिन नसके प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा उनी अर्को एक महिना सत्तामा रहन पाउलान्। तर, त्यसपछि भने एमालेले सत्ता गुमाउने छ र, केन्द्रमा जस्तो विपक्षी गठबन्धनको सरकार बन्ने छ।

अहिलेसम्म एमालेमै रहे पनि आफूलाई नेकपा एकीकृत समाजवादी पार्टीको नेता बताउने सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्री आचार्यले बाँकी कार्यकाल आफू मुख्यमन्त्री बन्ने वा एक महिनापछि सत्ताच्युत बन्नेबारे निर्णय गर्नुपर्ने बताए।

‘उहाँ हिजो हाम्रो नेता हो, हामीले नै उहाँलाई मुख्यमन्त्री बनाउन ठूलो संर्घष गरेका थियौं। तर, झिनो मतले उहाँ पराजित बन्नुभयो, अहिले पनि उहाँ हाम्रो नेता हो, उहाँ मुख्यमन्त्री बन्नुभएकोमा हामी बधाई दिन्छौं। तर, पार्टीनै अलग भएपछि भने सधैं हामीले सहयोग गर्न सक्दैनौं। हामीसँग अहिले पनि १५ सांसद हुनुहुन्छ, अहिलेको अवस्थामा सात जनाले मात्र एमाले छाड्दा पनि उहाँ आजैदेखि अल्पमतमा पर्नुहुन्छ, त्यसैले कसरी अघि बढ्ने मुख्यमन्त्री आचार्यकै हातमा छ,’ घिमिरेले भने। 

स्रोतका अनुसार आचार्य एमाले छाड्ने पक्षमा भने छैनन्। उनले केही दिनअघिको एक टिभी अन्तर्वार्तामा पनि माधव नेपाल–झलनाथ खनालले धोका दिएको प्रतिक्रिया दिएका थिए।

Skip This
Logo