कृषिमा आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग अपरिहार्य: प्रधानमन्त्री

कृषिमा आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग अपरिहार्य: प्रधानमन्त्री


प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक रहेको बताएका छन्।

विश्वविद्यालय सभाको नवौँ साधारण बैठकमा शुक्रबार सम्बोधन गर्दै उनले यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानका आधारमा नीति निर्माण गर्न विश्वविद्यालय सक्षम र सहयोगी हुने विश्वास व्यक्त गरे। 

कृषि, शिक्षा तथा प्रसारलाई एकीकृत रुपमा सञ्चालन गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत कृषक एवं वन उपभोक्तासमक्ष पुर्याउन विश्वविद्यालय सक्षम होस् भन्ने अपेक्षा गरे।

विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी मुलुकको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्याउने उनको विश्वास थियो। नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान लगायतको प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न यो विश्वविद्यालय स्थापना गरिएको हो।

यस विश्वविद्यालयले विभिन्न प्रदेशहरूमा सातवटा कृषि सङ्काय र एक वन विज्ञान सङ्काय अन्तर्गतको कलेज र दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आइसकेको छ भने कर्णाली प्रदेशको दैलेखमा पनि यसै शैक्षिक वर्षबाट कृषि विषयमा स्नातक तह कार्यक्रम सञ्चालन भएको छ।

Logo