बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा, विश्वासको मत पाउने सम्भावना न्यून

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा, विश्वासको मत पाउने सम्भावना न्यून


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएको दिनदेखि नै अल्पमतमा परेकी छिन्।

नवगठित नेकपा एकीकृत समाजवादीमा एमालेकै तीन जना प्रदेश सांसदले हस्ताक्षर गरेपछि सरकार अल्पमतमा परेको हो।

मुख्यमन्त्रीलाई नियुक्त भएको एक महिनामा विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता पनि छ।

बागमती प्रदेश सभामा जम्मा एमालेका ५६ सांसद रहेका छन्। बहुमत पुर्याउन ५५ सांसद आवश्यक रहेकोमा तीनजना प्रदेश सांसद राजेन्द्र पाण्डे, बसन्त मानन्धर र कृष्ण खनालले नेकपा एकीकृत समाजवादी दर्ता हुँदा निर्वाचन आयोगमै पुगेर हस्ताक्षर गरिसकेकोले एमालेले बागमती प्रदेशसभामा बहुमत गुमाएको हो।

उनीहरूमात्र नभएर एमालेकै मुनु सिग्देल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल पनि नयाँ दलमा खुल्ने सम्भावना रहेको छ। उनीहरू सहित ६ जनालाई नयाँ पार्टीमा सामेल नहुन दिन एमालेको प्रयास भने जारी छ

अध्यादेशले २१ दिनभित्र दल रोज्ने विकल्प दिएको र कानुनतः संसदीय दल विभाजन भइ नसकेकाले एमाले नेतृत्वबाट सरकार जोगाउन हरसम्भव प्रयास देखिन्छ।

तथापि सरकार जोगिनेमा शंका छ। एमालेका एक नेता भन्छन्, माधव नेपाल समूहले नै मुख्यमन्त्रीमा शाक्य ल्याउनुपर्छ भनेर यसअघि पटक–पटक भनिरहेको थियो । एमालेले शाक्यलाई नै मुख्यमन्त्री बनाउँदा अविश्वास गर्ने स्थिति आयो र पद गयो भने राजनीतिको विकृत अभ्यास हुन जान्छ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकार टिकाउन र विभाजनको असर कम पार्ने रणनीतिसहित विश्वासपात्र डोरमणि पौडेललाई राजीनामा गराएर आलोचक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका थिए। 

तर, दल विभाजनसँगै मुख्यमन्त्री शाक्यलाई अब सरकार टिकाउन सजिलो भने पटक्कै छैन। 

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले भने मुख्यमन्त्री  शाक्य नयाँ दलमा आए सरकारले निरन्तरता पाउने अन्यथा एक महिनापछि सरकार परिवर्तन हुने बताउछन्।

स्रोतका अनुसार पाण्डेलाई नेकपा एकीकृत समाजवादीको तर्फबाट शाक्यपछिको मुख्यमन्त्री दाबेदार र विपक्षी गठबन्धनले सघाएर पाण्डेको नेतृत्वमा गठबन्धनको सरकार बन्ने तयारी रहेको जानकारी दिएको छ।
 
एक सय ९ सदस्य रहेको बागमती प्रदेशसभामा अहिलेको सरकार जोगाउन एमालेसँग त्योबाहेक अर्को विकल्प पनि छ। शाक्यले गठबन्धनमा नरहेका विवेशील साझाको ३, नेमकिपा २,  राप्रपा २ र १ स्वतन्त्र गरी ८ जना सांसदको विश्वास जित्न सकिन् भने उनी बाँकी अवधि मुख्यमन्त्रीमा रहन सक्छिन्।

तर, साना दलबाट उनले त्यो साथ पाउन मुस्किल छ। यो अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वास गुमाए गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित अन्य साना दलको सरकार बन्ने पक्का छ।
 

Logo