माधव पक्षका यी १० सांसदले साथ छाड्दैछन् मुख्यमन्त्री भीम आचार्यलाई (सूचीसहित)

माधव पक्षका यी १० सांसदले साथ छाड्दैछन् मुख्यमन्त्री भीम आचार्यलाई (सूचीसहित)


प्रदेश एकका नवनियुक्त मुख्यमन्त्री भीम आचार्य सत्ता सम्हालेकै दिन अल्पमतमा परेका छन्।

एमाले विभाजनको प्रभावले मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन्। त्यसो त प्रदेश एकमा एमाले फुट हुनुअघिसम्म उक्त पार्टीको स्पष्ट एकल बहुमत रहेको थियो। एकल बहुमत भएकै कारण अन्य प्रदेशमा एमाले सरकार ढल्दा पनि प्रदेश एकलाई कुनै असर परेको थिएन।

तर, निर्वाचन आयोगले एमालेबाट अलग भएको माधव समूहलाई भदौ ९ मा आधिकारिकता र दर्ता प्रमाणपत्र दिएपछि एमालेको केन्द्रमा मात्र नभएर प्रदेशमा पनि समीकरण फेरिएको हो।

प्रदेश एकमा एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्व प्रदेश सांसद राजेन्द्र राईले गरेका छन्। 

केही दिनअघिनै सांसद राईले सामाजिक सञ्जालमार्फत् चार सांसदले प्रदेश सरकार ढाल्न सकिने अभिव्यक्ति दिएका थिए। एमालेभित्र प्रभावशाली मानिएका उनी सत्ता परिवर्तनको खेलमा कसिएर लागेका छन्।

नेपालको संविधानको धारा १६८ (१) बमोजिम शपथ खाएका आचार्यले धारा १८८ (२) बमोजिम विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रदेश सांसद राजेन्द्र राईको नेतृत्वमा विभाजित दलका सांसद सामेल हुने देखिएकाले आचार्यले विश्वासको मत लिनुपर्ने भएको हो।

एमालेका ५१ सांसदमध्ये एक सभामुख र १ जना फौजदारी अभियोगमा फरार छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। त्यसका लागि राजेन्द्र राईले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) मा चारजना सांसदको समर्थन नरहे आचार्यले समर्थन पाउने सम्भावना देखिँदैन। 

केन्द्रदेखिकै सत्ता समीकरणमा जनता समाजवादी पार्टी पनि गठबन्धनमै छ। एमालेका चार सांसदले आचार्यलाई समर्थन नगरे पुनः नयाँ सरकारको बाटो खुला हुने देखिएको छ। 

त्यसका लागि सांसद राईले प्रयास सुरु गरेका छन्। राई नेपाली कांग्रेससहितको गठबन्धनको सरकार बनाउने तयारीमा लागेकाले पछि मन्त्री दिने सर्तमा सांसदलाई मन्त्री पद दिने आश्वासन बाँड्न थालेका छन्। 

उता, एमाले नेताहरूले राईको समर्थनमा रहेका सांसदलाई एमालेमै रहन र मन्त्री पद लिन आग्रह गर्दै आएका छन्। 

विपक्षी दललाई भने बहुमत पुर्याउन साना दलकोसहित पाँच सांसदको आवश्यक पर्ने देखिएको छ। राप्रपा र लोकतान्त्रिक मञ्चको समर्थन नभए एमालेका सात सांसद समाजवादीमा आउनुपर्ने आवश्यकता देखिएको छ। 

नेकपा एकीकृत सामाजवादीका सांसद उपेन्द्र घिमिरेले आफूसहित १० जना सांसद नयाँ पार्टीमा खुलेर लागिसकेको र अन्य तीनजना सांसद आउने क्रममा रहेको दाबी गरे।

उनका अनुसार १० सांसदहरूमा राजन राई खोटाङ, गणेश काम्बाङ पाँचथर, राजेन्द्र राई भोजपुर, खिला लंवा लिम्बु इलाम, सरिता थापा संखुवासभा, पदमकुमारी गुरुङ संखुवासभा, सावित्री रेग्मी मोरङ, कृष्णकुमारी राई मोरङ, सुनिता चौधरी उदयपुर रहेका छन्।

घिमिरेले अझै पनि मुख्यमन्त्री आचार्य समाजवादी पार्टीमा खुले गठबन्धनले मुख्यमन्त्री बनाउन सक्ने तर, एमालेमै रहे गठबन्धनले एक महिनापछि नयाँ मुख्यमन्त्री दिने दाबी समेत गरे।

त्यसो त मुख्यमन्त्री आचार्य यसअघि नेपाल–खनाल पक्षका विश्वास पात्र हुन्। तर, आचार्यले पार्टी फुटमा सघाउन नसकिने भन्दै एमालेमै रहने निधो गरेर बैठकमा सामेल भएका थिए।

त्यसैको उपहारस्वरुप निर्वतमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिई उनलाई मुख्यमन्त्री बनाएका थिए।

भीम आचार्यलाई साथ नदिने माधव पक्षका सांसद

१. राजेन्द्र राई, भोजपुर
२.राजन राई, खोटाङ
३. गणेश काम्बाङ, पाँचथर
४. खिला लंवा लिम्बु इलाम
५.सरिता थापा, संखुवासभा
६. पदमकुमारी गुरुङ, संखुवासभा
७.सावित्री रेग्मी, मोरङ
८. कृष्णकुमारी राई, मोरङ
९. उपेन्द्र घिमिरे, मोरङ
१०. सुनिता चौधरी, उदयपुर

Logo