ओली छाडेर आएका किसन श्रेष्ठलाई माधव समूहबाट पनि मन्त्री बन्न मुस्किल

ओली छाडेर आएका किसन श्रेष्ठलाई माधव समूहबाट पनि मन्त्री बन्न मुस्किल


नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसन’लाई यसपटक पनि मन्त्री बन्न मुस्किल हुने देखिएको छ। 

एकीकृत समाजवादीको भागमा उपसभामुखसहित चार मन्त्री र एक राज्यमन्त्री मात्र भागमा परेकाले त्यसलाई बाँडफाँट गर्दा उनी मन्त्रीको लिस्टमा नअटाउने सम्भावना बढेको छ। 

यद्यपि, एकीकृत समाजवादीले भने ओली छाडेर आएका श्रेष्ठलाई अहिले नै मन्त्रीको लिस्टबाट आउट भने गरिनसकेको स्रोतको दाबी छ।

ओली छाडेर एकीकृत समाजवादीमा आएका पूर्वमन्त्री प्रेम आले र श्रेष्ठमध्ये एकजनालाई मन्त्री बनाउने गरी पार्टीले छलफल गरिरहे पनि क्षेत्रीयता र एमालेसँग प्रतिस्पर्धाका लागि प्रभावशाली नेताहरू अटाउनुपर्ने भएकाले श्रेष्ठभन्दा आलेको सम्भावना बढेको एकीकृत समाजवादीका एक केन्द्रीय नेताले बताए।

को तर, सम्भावनाका हिसाबले आलेलाई भन्दा श्रेष्ठलाई नै पार्टीले व्याक सार्छ पार्टीका एक केन्द्रीय सदस्यले केन्द्रबिन्दुलाई जानकारी दिए।

‘सुदूरपश्चिम प्रदेशका आलेलाई एकीकृत समाजवादीले एमाले उपाध्यक्ष भीम रावलसँग टक्कर गर्ने नेताका रुपमा लिएको छ, त्यसकारण पनि यसपटक आलेलाई नै चिठा पर्ने सम्भावना देखिन्छ,’ स्रोतले केन्द्रबिन्दुसँग भन्यो। 

त्यसो त किसन श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मन्त्री नबनाएको भन्दै पार्टी छाडेका नेता हुन। उनले गत चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका नेता हुन्। 

सबैले पालो पाउँदा पनि आफूलाई पार्टीले नहेरेको भन्दै उनले ओली पक्षबाट विद्रोह गरेर ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। 

यसरी पार्टीमा विद्रोह गर्नेहरूमा पूर्वमन्त्री प्रेम आले पनि हुन्। उनी वन मन्त्री रहँदा राम्रो कार्यसम्पादन नगरेको भन्दै उनलाई ओलीले फिर्ता बोलाएका थिए। त्यही कारणले गर्दा आलेले पनि किसन श्रेष्ठकै बाटो समाएर माधव पक्षमा आएका थिए।

तथापि, नेता श्रेष्ठले भने आफू मन्त्री बन्नकै लागि ओली क्याम्प परिर्वतन गरेर नयाँ पार्टीमा नलागेको प्रतिक्रिया दिए। ‘पार्टीले विश्वास गरे मन्त्री पदका लागि म योग्य छु, तैपनि, मलाई नै पद चाहिन्छ भन्दै हिँड्दिनँ,’ उनले भने। 

एकीकृत समाजवादीले सांसद विरोध खतिवडाको नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठलाई मन्त्रीका रूपमा सरकारमा पठाउने पक्का भएको छ। त्यस्तै, उपसभामुखमा सांसद कल्याणी खड्कालाई पठाउने निश्चित भएको स्रोतको दाबी छ। 

Logo