गगन थापा सभापतिको उम्मेद्वारबाट ‘ब्याक’ हुनुका चार कारण (भिडियोसहित)

गगन थापा सभापतिको उम्मेद्वारबाट ‘ब्याक’ हुनुका चार कारण (भिडियोसहित)


कांग्रेसको १४ औं सभापति पदमा भटाभट उम्मेदवारी घोषणा भइरहेको छ। घोषणा गरेका केहीले त सम्पर्क कार्यालयसमेत स्थापना गरिसके। जसले कांग्रेस महाधिवेशनको माहोल तातेको अर्थ्याउँछ।

सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालादेखि कल्याणकुमार गुरुङसम्मका नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्। जीतका लागि आन्तरिक समीकरण मिलाउनमा पनि उनीहरूको व्यवस्तता छ। विडम्वना ! सभापति पदमा युवा नेताको उम्मेदवारी घोषणा भने गुरुङको मात्रै हो। अन्य नेताहरू सबै ६५ देखि ८० छेउछाउका हुन्।

हुन त अघिपछि सभापति बन्ने भनेका युवा नेताहरू कांग्रेसमा नभएका होइनन्। महाधिवेशन आउनै लाग्दा भने डराए। हिम्मत पुगेन उनीहरूको। जित वा हारको जोखिम मोल्न आँटिला देखिएनन्। यसको पुष्टि गगनकुमार थापाको सोमबार महामन्त्री पदमा भएको उम्मेदवारी घोषणाले पनि पुष्टि गर्यो।

यसअघि सभापति पदमा वर्तमान सभापति देउवा उम्मेदवार बने भने उनी चुनौती दिने भन्थे। अन्ततः महामन्त्री पदमै उनको उम्मेदवारी घोषणा भयो।

फेरि, उनी महामन्त्री पदमा १३ औं महाधिवेशनमा निर्वाचन लडेका नेता हुन्। पार्टीको महाधिवेशन गत वर्षको फागुन ७ देखि १० गतेसम्म तोकिँदा भने सभापति पदमा उम्मेदवारी दिने उनको भनाइ थियो।

सर्दै आगामी मंसिरमा पुगेपछि उनको उम्मेदवारी महामन्त्री पदमा रह्यो। यस्तो अवस्थामा, सभापति पदमा गगन निर्वाचन लडेको हेर्न चाहनेहरूको प्रश्न छ, गगन किन सभापति पदमा उम्मेदवारी घोषणा गर्नबाट पछि हटे? कारण के हो?

यसका पछि चार कारण हुन सक्छन्। 

पहिलो– पार्टी सभापति देउवाको संगठनमा बलियो पकड छ। स्थानीय तहदेखि पार्टीको केन्द्रीय समितिसम्मै देउवाको सांगठानिक वर्चश्व छ। क्रियाशील सदस्यता वितरण र नवीकरणमा पनि देउवाले गज्याङमज्याङ गर्दै थप शक्तिशाली हुने गरिको माहोल बनाएका छन्। त्यही भएर जो कोहीले उनलाई चुनौती दिन सक्दैनन्। 

यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त देउवाले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेको आरोप लगाइसके। यसको मतलव, देउवा सांगठानिकरूपमा थप बलियो भए भन्ने स्वीकारोक्ति हो। र, गगन पार्टी संगठनमा कमजोर पकड भएका कृष्णप्रसाद सिटौलापक्षीय नेता हुन्। १३ औं महाधिवेशनमा सिटौला देउवासँग नराम्ररी हारेका थिए। स्पष्ट हार्ने सम्भावना भएकैले सभापति पदमा उनको उम्मेदवारी नभएको विश्लेषण राजनीतिक विश्लेषक दुर्गा सुवेदीको छ। 

दोस्रो–राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि गगनको हो। उनी युवा पुस्ताका रुचाइएकामध्येका नेता हुन्। पार्टीमा पनि उनको लोकप्रियता नभएको होइन। जसको लाभ महामन्त्री पदमा निर्वाचन लड्दा देउवा र शेखर कोइराला पक्षबाट समर्थन चाहेको स्रोतले जनायो। स्रोतका अनुसार समर्थन नभएको अवस्थामा सभापति पदमा उम्मेदवारी दिन थापा चाहन्छन्।    

तेस्रो–कांग्रेसमा सभापतिपछि शक्तिशाली पद महामन्त्री हो। सांगठानिक नेतृत्व महामन्त्रीले गर्छ। पार्टी संगठनको नेतृत्व नगरी सिंगो पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने थापाको मनशाय हुन सक्छ।

चौंथो–कल्याणकुमार गुरुङबाहेक कांग्रेसको १४ औं सभापति पदका लागि उम्मेदवारी घोषणा गरेकाहरू ६५ देखि ८० वर्ष हाराहारिका छन्। जोहरू पहिलो पुस्ताका कांग्रेस नेता भनेर चिनिन्छन्। जबकि, गगन थापा पार्टीको तेस्रो पुस्ताका नेता हुन्। पार्टी नेतृत्व गर्न बेला रहेको बुझाइका आधारमा पनि उनले सभापति पदबाट पछि हटेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको हुन सक्छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार युवा नेताहरू पार्टी नेतृत्वका लागि लड्न नचाहनुको मूल कारण यसअघि नेता थापाको महामन्त्री पदमा भएको पराजय हो।

हुन त नेता थापा विद्यार्थी आन्दोलनबाट पार्टी हुँदै राष्ट्रिय राजनीतिमा आएका हुन्।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका उनी लगातार संसदीय निर्वाचनमा निर्वाचित हुँदै आएका छन्। तर, पार्टीको महामन्त्री पदमा भने १३ औं महाधिवेशनमा पराजित भए। उनलाई पराजित गर्ने नेता शंशाक कोइराला हुन्। जसले सभापति पदमा उम्मेदवारी घोषणा गरिसके।

थापा भने यसअघि पराजित भएकै पद महामन्त्रीमा अडिए। जबकि, कांग्रेसमा सभापति पदमा चुनौती दिन सक्नेमध्येका एकजना युवा नेताका रूपमा उनलाई हेरिएको थियो।

उनी कांग्रेसमा गणतन्त्रको एजेण्डा बोक्नेमध्येका एक नेता पनि हुन्। केपी ओली नेतृत्वमा सरकार रहँदा संसद्मा प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट नेता थापाले मात्रै प्रतिपक्षी दलको आभाश दिलाएको चर्चा हुने गरेको थियो।

स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा राम्रा काम गरेको पनि भनिँदै आएको छ।
यसरी पार्टीबाहिर लोकप्रिय उनले अन्नतः महामन्त्री पदमा उम्मेदवारी दिएपछि पार्टीको नेतृत्वमा युवा पुग्नुपर्छ भन्ने उनको अभिव्यक्ति भावनामा बहेर आएको भन्न सकिन्छ।

जबकि, २०७४ मा भएको संघीय र प्रदेश निर्वाचनमा पार्टी दोस्रो भएपछि पाका नेताले पार्टी हाँक्न नसकेको कुरा उनको थियो। युवाले कांग्रेस हाँक्नुपर्नेमा जोड थियो। तर, पार्टीका ६५ देदि ८० वर्ष उमेर समूहका नेताहरूसँग सभापति पदमा भिड्नबाट उनी पछि हटे। अन्य युवा नेताहरू पनि पछि हटेका छन्।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार युवा नेताहरू पार्टी नेतृत्वका लागि लड्न नचाहनुको मूल कारण यसअघि नेता थापाको महामन्त्री पदमा भएको पराजय हो।

थापाको पराजयपछि युवा नेताहरूको सातो गएको उनको टिप्पणी छ। कांग्रेस इतिहासमा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला ३८ वर्षमै सभापति भए। पार्टी संगठनको नेतृत्व गरे। प्रजातन्त्रमा विश्वास राख्ने नेता कार्यकर्तासहित लाखौं जनताको नेता बने।

हाल युवा भनिएका कांग्रेस नेताहरू भने ५० वर्ष वरिपरीका हुन्। यद्यपि, उनीहरूमा सभापति पदमा उम्मेदवारी घोषणा गर्नेसम्मको आँट भएन। जसले कांग्रेसका युवा नेताहरू ‘ट्याउँट्याउँ’ गर्ने मात्रै हुन् भन्ने पुष्टि भएको छ।

Logo