५० प्रतिशत बढी मत ल्याउँदा मात्रै जितिने कांग्रेसका कुन कुन पद ?

५० प्रतिशत बढी मत ल्याउँदा मात्रै जितिने कांग्रेसका कुन कुन पद ?


नेपाली कांग्रेसको सभापति पदमा जितका लागि अन्य दलमा भन्दा भिन्न प्रावधान छ। त्यो हो, जित्न ५० प्रतिशत बढी मत।

अन्य राजनीतिक दलमा अधिक मत प्राप्त गर्ने उम्मेदवार अध्यक्ष पदमा निर्वाचित हुने प्रावधान रहँदा नेपाली कांग्रेसको विधानमा उल्लेखित यो अनिवार्य प्रावधान हो।

दुई भन्दा बढी उम्मेदवार भएको अवस्थामा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने विधानमा उल्लेख छ। उल्लेख भए अनुसारको मत प्राप्त गर्ने उम्मेदवार सभापति पदमा निर्वाचित हुन्छ। यो तीन तहको सभापतिको हकमा लागू हुन्छ। 

–    केन्द्रीय सभापति
–    प्रदेश सभापति
–    जिल्ला सभापति

निर्वाचन अधिकृत\मतदान अधिकृतले केन्द्रीय सभापतिका लागि विधानको धारा १६ (ख), प्रदेश सभापतिका लागि धारा १३ (६) को १ (ख) र जिल्ला सभापतिका लागि धारा १२ (५) (क) २ अनुसार निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने निर्वाचन निर्देशिकामा भनिएको छ।

यी पदहरूमा ५० प्रतिशत मत बढी आउँछ नै भन्ने हुँदैन। यदि, नपाएको अवस्थामा भने बढी मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ, जुन विधानमै उल्लेख छ। 

अन्य पदमा के छ ?

नेपाली कांग्रेसको अन्य पद र अन्य तहमा भने निर्वाचित हुन बढी मत प्राप्त गर्नुपर्छ।
सभापति पदमा जस्तो प्रावधान छैन।

यस्तो प्रावधान अन्य राजनीतिक दलको निर्वाचन निर्देशिकामा छ। र, कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार यदि कुनै पदका उम्मेदवारबीच मत बराबरी भएको अवस्थामा भने निर्वाचन वा मतदान अधिकृतले गोला प्रथा गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ। त्यसको आधारमा उम्मेदवार भएकामध्ये एकलाई विजयी घोषणा गर्नुपर्ने भनिएको छ। 

वडा अधिवेशन भोलिदेखि

मुलुकको ठूलो प्रजातान्त्रिक दल कांग्रेसको भोलिदेखि वडा तहको अधिवेशन हुँदैछ। महायज्ञको रूपमा वडा अधिवेशनलाई लिन वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभरका कांग्रेसीहरूलाई आज बिहान आह्वान गरिसके।

डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजालसहितको निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाअनुसार अधिवेशन हुने भएको हो।

तर, भोलि एकैसाथ देशभरका वडाहरूमा अधिवेशन हुने अवस्था भने छैन। राजधानी काठमाडौंकै वडाहरूमा नहुने भएको छ। किनभने, नयाँ र नवीकरण भएको क्रियाशील सदस्यताको विवरण सबै जिल्लाको सार्वजनिक भएको छैन।

सार्वजनिक भएका जिल्लाहरूमा मात्रै अधिवेशन हुने भएको हो।

भोलि नै नहुने जिल्लाको वडाहरूमा पनि अधिवेशन २३ भदौसम्ममा गरिसक्नुपर्ने छ। देशभर ६ हजार ७४३ वटा वडा छन्।

Skip This
Logo