माधव नेपाल ब्रिगेका मात्रै होइन, पतन भइसकेः केपी ओली

माधव नेपाल ब्रिगेका मात्रै होइन, पतन भइसकेः केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको आरोप लगाएका छन्।

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए। 

स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले भने, ‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो पार्टी, त्यो पनि जन्मिन नपाउँदै !’

भेलालाई सम्बोधन गर्दै ओलीले चुनौती दिए, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ।’

त्यस्तै ओलीले हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए। ओलीले भने, ‘थुप्रै नेताहरु कता जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो। एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो।’

उनले प्रदेश–प्रदेश सरकार ढाल्न माधव नेपाल लागेको पनि आरोप लगाए। ओलीको थप टिप्पणी छ, ‘माधव नेपाल ब्रिगेका मात्रै होइन, पतन भइसके। माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ।’

Logo